बागमतीका मन्त्री श्रेष्ठले आफ्नै तलब खर्चिएर गरे रासन वितरण

पालिका डायरी
२३ आश्विन २०८१, २२:०८

बागमती प्रदेशका मन्त्री मदु कुमार श्रेष्ठले आफ्नो तलब भत्ता वापतको रकमले बाढी पीडितका लागि राहत वितरण गरेका छन् । असोज ११ गतेदेखि आएको अविरल बर्षाका कारण बाढी पहिरो प्रभावित क्षेत्रका नागरिकका लागि राहत सामाग्री वितरण गरेका हुन् ।

दसैं जस्तो महान पर्वका बेला कोही भोकै बस्न नपरोस् भनेर आफूले बाढी पीडित परिवारलाई रासन सामाग्री वितरण गरेको मन्त्री श्रेष्ठले बताए । आफ्नो खातामा जम्मा भएको ४ महिना बराबरको तलबमा १५ दिनको तलब विपद व्यवस्थापन कोषमा जम्मा गरेको बाकी रहेको रकमले रासन वितरण गरेको मन्त्री श्रेष्ठ बताउँछन् ।

काठमाडौं उपत्यकाको काठमाडौं, ललितपुर, भक्तपुर, धादिङ, काभ्रे लगायतका स्थानका पीडित परिवारलाई आवश्यकता अनुसार दाल, चामल, नुन, तेल वितरण गरिएको हो । धेरै क्षति भएको र निम्न वर्गका परिवारलाई आवश्यकता अनुसारको सामान वितरण गरिएको मन्त्री श्रेष्ठले बताए ।

आफूले प्रयोग गर्ने गाडीमा रासन सामाग्री राखेर पीडित घर परिवारलाई वितरण गरेका हुन् । हालसम्म करिव ५० परिवारलाई वितरण गरिएको र अझै वितरणको काम भैरहेको उनले जानकारी दिए ।

चाडपर्वको समयमा कोहि कसैको पेट भोको नहोस् भन्ने उदेश्यले आफ्नो तलबनै खर्चिएको बताए । जनताको सेवा गर्न सरकारमा सहभागी भएको बताउँदै उनले नागरिकको दुखको सहारा बन्न कुनै बिभगीय जिम्मेवारीको आवस्यकता नपर्ने दाबी गरे । २०७९ को आम निर्वाचनमा धादिङ १(१) बाट प्रत्यक्ष निर्वाचित श्रेष्ठ गत साउन ९ गते प्रदेशको मन्त्री नियुक्त भएका हुन् । तर लामो समयसम्म पनि उनले विभागीय जिम्मेवारी भने पाएका छैनन् ।

प्रतिक्रिया
rahat madhu shrestha