बागमती प्रदेश: ३ महिनामा ७ हजार भन्दा धेरैमा डेंगी संक्रमण

पालिका डायरी
२ कार्तिक २०८१, १३:४५
मकवानपुरमा फैलदैं डेंगू, दुई हप्तामा २८ संक्रमित फाईल फोटो

लामखुट्टेको टोकाइबाट हुने डेंगी संक्रमितको संख्या बागमती प्रदेशमा निन्तर बढिरहेको छ । चालु आर्थिक बर्ष २०८१/०८२ को साउन १ गतेदेखि असोज ३० गतेसम्मको अवधिमा बागमती प्रदेशमा ७ हजार बढी मानिस डेंगी संक्रमणबाट पीडित भएका छन् ।

बागमती प्रदेशको स्वास्थ्य मन्त्रालयका अनुसार बागमतीमा चालु आर्थिक बर्षको तीन महिनाको अवधिमा ७ हजार ३९३ जनामा डेंगी संक्रमण भएको छ । प्रदेशका १३ वटै जिल्लामा डेंगीको प्रकोप फैलिएको मन्त्रालयले जनाएको छ ।

तीन महिनाको तथ्यांक अनुसार सबैभन्दा धेरै असोज महिनामा डेंगु संक्रमितको संख्या बढेको स्वास्थ्य मन्त्रालयका प्रवक्ता डा.खगेश्वर गेलालले जानकारी दिए । उनका अनुसार गत असोज महिनामा मात्रै ३ हजार ९९० जनामा डेंगी संक्रमण पुष्टि भएको छ । यसअघि भदौमा २ हजार १६२ जनामा डेंगी पुष्टि भएको थियो भने साउनमा ८ सय ४७ जना संक्रमित भएका थिए ।

प्रदेशका १३ जिल्लामध्ये काठमाडौंमा सबैधन्दा धेरै डेंगीका बिरामी फेला परेका छन् । काठमाडौँमा अहिलेसम्म २ हजार ६५० जनामा डेंगी संक्रमण भएको स्वास्थ्य मन्त्रालय बागमतीको तथ्यांक छ । जसमा गत साउन महिनामा १५७ जनामा डेंगु संक्रमित भएका छन् भने भदौमा ७५१ जना संक्रमित भएका छन् । असोजमा १ हजार ७४२ जनामा डेंगी संक्रमित भएका मन्त्रालयको तथ्यांक छ ।

यस्तै, चितवनमा १ हजार ८४६ जनामा डेंगी संक्रमण भएको छ। साउन महिनामा ३८९ जनामा डेंगी संक्रमित भएको चितवनमा भदौ महिनामा ७३७ र असोजमा ७२० जनामा डेंगीका बिरामी भेटिएका छन् ।

यस्तै, मकवानपुरमा हालसम्म ९१२ जनामा डेंगु संक्रमण भएको छ भने धादिङमा ११४, ललितपुरमा ८३८, भक्तपुरमा ३५६, काभ्रेमा १४३, नुवाकोटमा ७१, दोलखामा २८, रामेछापमा १३, सिन्धुपाल्चोकमा ४९, सिन्धुलीमा ३७२ र रसुवामा १ जनामा डेंगु संक्रमण पुष्टि भएको प्रदेश स्थित स्वास्थ्य मन्त्रालयले जनाएको छ ।

चालु आर्थिक वर्षको हालसम्मको अवधिमा डेंगीका कारण दुईजनाको मृत्यु भएको मन्त्रालयले जनाएको छ। गत आर्थिक वर्ष २०८०र०८१ मा ६ जनाको डेंगी संक्रमणकै कारण मृत्यु भएको थियो। सो अवधिमा ११ हजार ९०६ जना डेंगी संक्रमित भएका मन्त्रालयका सूचना अधिकारी डा.रविन भुसालले जानकारी दिए ।

प्रतिक्रिया
dengue