मनहरीका किसानले उत्पादन गरेको दूधको रकम भुक्तानीको जिम्मा पालिकाको

पालिका डायरी
२ कार्तिक २०८१, १८:०६

पछिल्लो समय दुधको भुक्तानी नपाउँदा किसानहरु चिन्तित छन् । आफूले उत्पादन गरेको दूधको भुक्तानी समयमै नपाउँदा दूग्ध उत्पादक किसानहरु कृषि पेशाबाटै पलायन हुनपुगेको थुप्रै उदाहरणहरु छन् । तर किसानको यस्तै समस्याको हल गर्न मकवानपुरको मनहरी गाउँपालिकाले दूधको भुक्तानी १५÷१५ दिनमा नै किसानको खातामा पुग्ने व्यवस्थाको जिम्मा लिएको छ । जसकारण यहाँका किसानहरुमा उत्साह थपिएको उनीहरुको अनुभव छ । महिनौंसम्म दूधको भुक्तानी नपाएर आफ्ना गाईभैंसीलाई खुवाउने दाना किन्ने समेत पैसा नहुने स्थितीमा पुगेकोमा अब १५ दिनमै खातामा पैसा आउने कुराले यहाँका किसानहरु दंग छन् ।

मकवानपुरको मनहरी गाउँपालिकाले कृषकको दूधको भुक्तानीको सुनिश्चिततासँगै सहकारी मार्फत दूध खरिद गरी उद्योगसँग बजारीकरणको व्यवस्था मिलाएको छ । विगत २ महिनादेखि कार्यविधी निर्माण तथा उद्योग र सहकारीसँगको छलफल पछि गाउँपालिकाले हेटौंडा डेरी इन्डस्ट्रीजसँग दूध बजारीकरणको सम्झौता गरेको हो । सम्झौता अनुरुप गाउँपालिकाले कृषीउपज संकलन तथा बिक्री केन्द्र स्थापना गरी सहकारीसँग दूध खरीद गर्ने र उद्योगलाई बिक्री गर्ने भएको छ ।

यता, हेटौंडा डेरी इन्डस्ट्रीजले गाउँपालिकाले बनाएको योजनामा सहमती जनाएको हो । किसानले उत्पादन गरेको दूध साना किसान कृषि सहकारीमा संकलन गर्ने र त्यहाँबाट हेटौंडा डेरी इन्डस्ट्रीजले लगेर बजारीकरण गर्ने बताइएको छ । जसमा डेरी इन्डस्ट्रीजले गाउँपालिकालाई मासिक भुक्तानी दिनेछ भने पालिकाले किसानहरुलाई १५÷१५ दिनमा भुक्तानी दिने सहमती भएको हेटौंडा डेरी इन्डस्ट्रीज प्रा.लिका प्रशासन प्रवन्धक प्रदीप पौडेलले बताए ।

त्यसोत, यस गाउँपालिकामा केही समय अघि दुग्ध उत्पादन पेशामा लागेका किसानहरु समेत पलायन हुँदै गएपछि यस बिषयमा आफूहरुको ध्यानाकर्षण भएकोे जनप्रतिनिधिहरु बताउँछन् । व्यवसायिक रुपमा नै धेरै किसानहरु दूध उत्पादनमा जोडिएको भन्दै समयमै दूधको भुक्तानी उपलब्ध गराउन स्थानीय तहका जनप्रतिनिधिहरु विभिन्न ढंगबाट छलफलमा जुटेका थिए । किसानको प्रमुख समस्याको रुपमा रहेको दुधको भुक्तानी दीर्घकालिन अन्त्यका लागि गाउँपालिकाले नै भुक्तानी सुनिश्चिताको जिम्मा लिएको बताइएको छ । जसका कारण महिनौंसम्म दूधको भुक्तानी नपाएर पशुपालन पेशाबाटै पलायन हुनपर्ने अवस्थाको अन्त्य हुने विश्वास लिएको गाउँपालिका अध्यक्ष बताउँछन् ।

हाल मनहरी गाउँपालिकामा ६ वटा सहकारीमार्फत दैनिक ७ हजार लिटर भन्दा बढी दूध संकलन भईरहेको छ । संकलित दूध मकवानपुर जिल्ला दुग्ध उत्पादक सहकारी संघ मार्फत बिभिन्न उद्योगहरुमा बिक्री वितरण भईरहेको छ । तर विविध कारणले कृषकहरुले ३ महिनासम्मको भुक्तानी नपाएको किसानहरुको गुनासो छ ।

प्रतिक्रिया
IMG_7404