मनसुनजन्य विपद्ः बागमतीमा १ अर्ब बढीको कृषिबालीमा क्षति

पालिका डायरी
११ कार्तिक २०८१, २०:४७
बागमतीको कृषि मन्त्रालयलाई ३ अर्ब बजेट

गत असोजको दोस्रो हप्तादेखि परेको अविरल बर्षाका कारण बागमती प्रदेशको १३ जिल्लामाल्लामा अनुमानित १ अर्ब ४५ करोड ७८ लाख ३५ हजार रुपैंया मूल्य बरावरको कृषिबाली क्षति भएको छ । प्रदेशको कृषि तथा पशुपन्छी विकास मन्त्रालयका अनुसार उक्त मनसुनजन्य विपत्ले प्रदेशको ६ हजार ८७७.३ हेक्टर जमिनमा बाढी पहिरोले क्ष्ाित पुर्याउँदा सो रकम बराबरको कृषिबालीे क्षति भएको प्रारम्भिक अनुमान गरिएको हो ।

मन्त्रालयको अनुमानित तथ्यांक अनुसार चितवनमा ४ करोड ८४ लाख ८६ हजार रुपैंया बरावरको कृषिबाली क्षति भएको जनाएको छ । चितवनको माडी नगरपालिका र इच्छाकामना गाउँपालिकामा मनसुनजन्य विपद्ले क्षति पुर्याएको मन्त्रालयले जनाएको छ । जसमा माडि नगरपालिकामा ३३ लाख ६४ हजार र इच्छाकामना गाउँपालिकामा ४ करोड ५१ लाख २२ हजार रुपैंया बरावरको कृषि धनमा क्षति पुगेको मन्त्रालयले जनाएको छ ।

यस्तै, मकवानपुरमा कुल ४५ करोड ७७ लाख ६९ हजार रुपैंया बराबरको कृषिबाली क्षति भएको मन्त्रालयका योजना तथा अनुगमन महाशाखा प्रमुख सुजन कँडेलले बताए । उनका अनुसार मकवानपुरको कैलाश गाउँपालिका, भीमफेदी गाउँपालिका र मकवानपुरगढी गाउँपालिका बाहेक ७ स्थानीय तहमा सो रकम बराबरको क्षति भएको प्रारम्भिक अनुमान गरिएको बताइएको छ । मकवानपुरको ३ हजार २७४ हेक्टर क्षेत्रफलमा लगाइएको अन्नबाली तथा नगदेबालीमा क्षति पुगेको बताइएको छ ।

सिन्धुलीमा कुल ८६७ हेक्टर क्षेत्रफलमा लगाइएको कृषिबालीमा क्षति पुगेको मन्त्रलालयको प्रारम्भिक अनुमान छ । जसबाट सिन्धुलीका ७ वटा स्थानीय तहमा ९ करोड ८८ लाख ३८ हजार रुपैंया मुल्य बराबरको क्षति भएको बताइएको छ । सिन्धुलीमा तरकारी खेति गरिएका १८ वटा टडेलमा बाढी पहिरोले क्षति पुर्याएको मन्त्रालयले जनाएको छ ।

यस्तै, काभ्रेमा ४७ करोड ६ लाख ९१ हजार रपैंया मुल्य बराबरको कृषिबालीमा क्षति पुगेको मन्त्रालयको प्रारम्भिक अनुमान छ । काभ्रेको १३ वटा स्थानीय तहको १ हजार २३६.१ हेक्टर क्षेत्रफलमा लगाइएको कृषिबाली क्षति भएको मन्त्रालयका योजना तथा अनुगमन महाशाखाले जनाएको छ ।

रसुवामा ८.३ हेक्टर जमिनमा लगाइएको कृषिबाली क्षति हुँदा १७ लाख २५ हजार रुपैंया बरावरको कृषि बालीमा क्षति पुगेको बताइएको छ भने नुवाकोटमा १९८.४८ हेक्टर जमिनमा लगाइएको कृषिबालीमा बाढी पहिरोको प्रभावले २ करोड २३ लाख ४३ हजार रुपैंया बराबरको कृषि धनमा क्षति पुगेको प्रदेशको कृषि मन्त्रालयको प्रारम्भिक अनुमान छ ।

यता, ललितपुरमा ५६१.८ हेक्टर जमिनमा लगाइएको कृषिबालीमा क्षति पुग्दा १८ करोड ९६ लाख ५३ हजार रुपैंया बरावरको क्षति भएको मन्त्रालयको अनुमान छ भने भक्तपुरमा १६८.५ हेक्टरमा बाढी पहिरोले प्रभावित हुँदा ६ करोड ९९ लाख ८६ हजार रुपैंया बरावरको क्षति पुगेको मन्त्रालयको प्रारम्भिक अनुमान छ ।

काठमाडौंमा ३ करोड १ लाख ५९ हजार रुपैंया बरावरको कृषिबाली क्षति भएको मन्त्रालयको प्रारम्भिक अनुमान छ भने रामेछापमा २ करोड ३६ लाख ३२ हजार र दोलखामा ७ लाख १२ हजार रुपैंया मुल्य बराबरको कृषिबाली क्षति भएको प्रारम्भिक अनुमान गरिएको प्रदेशको कृषि तथा पशुपन्छी विकास मन्त्रालयले जनाएको छ । बागमतीमा रहेका १३ जिल्लाहरुमध्ये सिन्धुपाल्चोकमा भने उक्त मनसुनजन्य विपद्ले कुनै क्षति नपुगेको मन्त्रालयले जनाएको छ ।

हाल सार्वजनिक गरिएको यो विवरण प्रारम्भिक विवरण रहेको र स्थानीय तहहरुबाट क्षेती लागत तथ्यांक संकलन कार्य जारी रहेको मन्त्रालयका योजना तथा अनुगमन महाशाखा प्रमुख कँडेलले बताए । ‘यो विवरण नै अन्तिम तथ्यांकको विवरण होइन, उनले भने, ‘आधिकारिक विवरण प्राप्त भएपश्चात् पुनः संशोधित विवरण प्रेशण गरिन्छ।’

 

 

 

 

 

प्रतिक्रिया
krishi mantralaya