सत्रकिलो दुर्घटना : मृतकको संख्या ५ पुग्यो, यात्रु भन्छन्- गलत दिशाबाट माइक्रो आएर ठोक्कियो (भिडियो)
शुक्रबार (आज) बिहान २ बजे चितवनको भरतपुरबाट काठमाडौँका लागि निस्किएका १९ वर्षका साकिर मियाँ विराटनगरबाट काठमाडौँ जाँदै गरेको बा प्र ०३–००१ ख २८१२ नम्बरको बस चढे ।
चितवनको रत्ननगर नगरपालिका–१३ प्रगतिटोल बस्ने साकिर आज बिहान काठमाडौँ पुग्नु थियो । विराटनगरबाटै आएका यात्रुहरूले बसको सिटहरू भरिएका थिए । जसकारण उनी चालक नजिकैको क्याबिनमा बसेर काठमाडौँ जानका लागि तयार भए । साकिरले दिएको जानकारी अनुसार नायारणगढबाट बस करिब ३ बजेतिर गुड्यो । अन्य यात्रुहरू प्रायः निदाइरहेका थिए ।
तर उनी भर्खरै बस चढेका थिए । मियाँ निदाइसकेका थिए । बस आफ्नै गतिमा भरतपुर–२९ स्थित १७ किलोमा पुगेको थियो। आफ्नै साइडमा कम गतिमै कुदिरहेको बसको अगाडि एक्कासी माइक्रो भ्यान आएर ठोक्कियो ।
‘झ्याम्म गरेको आवाज आएर बसमा ब्रेक लागेपछि मात्रै माइक्रो हामी चढेको बसमा ठोक्कियो भन्ने थाहा पायौँ,’ उनले भने, ‘अगाडि बसेका हामी २/३ जना घाइते भयौँ । बसबाट ओर्लिएर हेर्दा माइक्रोमा भएका सबैजनाको अवस्था निकै बिग्रिएको देख्यौँ । चालक त सिटमै च्यापिएका थिए ।’ बस आफ्नै साइडमा गुडिरहेको बेला उक्त इलेक्ट्रिक भ्यान आफैँ बसमा ठोक्किन आइपुगेको उनले सुनाए ।
त्यसोत आफूहरू चढेको बस र काठमाडौँबाट नारायणगढतर्फ जाँदै गरेको बा प्र ०६–००१ ज ०२९८ नम्बरको हाइस एकआपसमा ठक्कर खाँदा भ्यानमा सवार ५ जनाको मृत्यु भएको चितवन प्रहरीले जनाएको छ ।
सोही भ्यानमा सवार अर्का एकजनाको अवस्था पनि गम्भीर रहेको चितवन प्रहरी प्रवक्ता डिएसपी भेषराज रिजाल बताउँछन् । उनका अनुसार चालक सहित ६ जना मात्रै सवार रहेको माइक्रो भ्यानमा हालसम्म ५ जनाको ज्यान गएको हो । मृतक ५ मध्ये हालसम्म ईभी भ्यान चालक र अर्का एक यात्रुको मात्रै सनाखत भएको प्रवक्ता रिजालको भनाइ छ ।
जसमा चालक चितवनको खैरहनी नगरपालिका–४ का ४० बर्षका अनोज अधिकारी रहेका छन् भने गोरखा आरुघाट गाउँपालिका–१ मान्बुका ४२ बर्षीय राजबहादुर गुरुङ रहेको प्रहरीले जनाएको छ । मृतक तीनजनाको भने हालसम्म सनाखत हुन नसकेको प्रहरी प्रवक्ता रिजालले जानकारी दिए।
‘न टिकट काटिएको भेटिएको छ। न त चलानी नै छ’, उनले भने, ‘केही प्रमाण पनि छैन । आफन्तहरू प्रहरीको सम्पर्कमा पनि आउनु भएको छैन । चालकको परिवार र गोर्खा घर भएका मृतकको परिवार आफैँ सम्पर्कमा आउनुभएपछि सनाखत भएको हो। अन्य मृतकहरूको सनाखत हुन सकेको छैन ।’
प्रवक्ता रिजालका अनुसार मृतक ५ मध्ये ३ पुरुष र एक महिला र एक बालिका रहेका छन् । बस चालक मकवानपुरको हेटौंडा उपमहानगरपालिका ९ बस्ने ४० वर्षीय सूर्यविक्रम विष्टलाई प्रहरीले नियन्त्रणमा लिएको चितवन प्रहरीले जनाएको छ ।