श्रीमतीको अनुरोध नकारेर घुम्न निस्किएका अर्जुन फोटो खिच्दाखिच्दै वैकुण्ठ तालमा अस्ताए

पालिका डायरी
२५ कार्तिक २०८१, १२:२१
श्रीमतीको अनुरोध नकारेर घुम्न निस्किएका अर्जुन फोटो खिच्दाखिच्दै वैकुण्ठ तालमा अस्ताए

गत बिहीबार (कात्तिक २२) अर्थात् छठ पर्वका दिन सर्वजनिक बिदा थियो । चितवनको भरतपुर महानगरपालिका–१६, प्रगतिटोलका ३५ वर्षीय अर्जुन गौतमले बिदाको सदुपयोग गर्न घुम्न जाने योजना बनाए ।

भरतपुरकै प्रभावशाली चार्टर्ड एकाउन्टेन्टको रूपमा नाम कमाएका गौतम छठ पर्वको दिन कुनै धार्मिक स्थल घुम्न जाने सोचमा थिए । पारिवारिक स्रोतका अनुसार अर्जुनले आफ्नी श्रीमती शर्मिला गौतमलाई पनि एक दिनको लागि अफिसमा बिदा लिन भनेका रहेछन् । नारायणी सामुदायिक अस्पतालमा नर्सको काम गर्ने शर्मिलाले ‘आज बिदा मिलाउन सकिन्न, अरू कुनै दिन मिलाएर जाउँला’ भनेकी थिइन् ।

अर्जुनका काका नाता पर्ने दण्डपाणि गौतमले दिएको जानकारी अनुसार शर्मिला त्यति भनेर हस्पिटल निस्किइन् तर अर्जुनले श्रीमती जान नभ्याए पनि आफ्ना आमाबुवा, छोरीहरू र ससुरालीका बा–आमा लिएर जाने निर्णय गरे। आमा देवी गौतम, बुवा टीकाराम गौतम र दुई छोरीहरू लिएर घरबाट निस्किए ।

आफ्नो घरनजिकै रहेको ससुरालीमा पनि घुम्न जानका लागि खबर गरे । अर्जुनकी सासुआमा र सालो पनि उनीहरूसँगै घुम्न गएको दण्डपाणि बताउँछन् ।

‘ससुरालीमा फोन गर्दा अर्जुनका ससुराबुवाले नभ्याउने भन्नुभयो रे । सासुआमा र सालोचाहिँ सँगै गएका रहेछन्,’ दण्डपाणिले  भने, ‘कसरा भन्ने ठाउँमा पुगेपछि अर्जुनकी सासुले वैकुण्ठ ताल नगएर ठोरी अयोध्या हेर्न जान भन्नुभएको थियो रे । तर अर्जुन आफैँले कर गरेरै गएको भन्नुहुन्छ उहाँहरू ।’

दण्डपाणिका अनुसार वैकुण्ठ तालमा जानमा लागि गाडीबाट ओर्लिएर हिँड्ने क्रममा अर्जुन आफ्नो जेठी छोरीलाई लिएर अघिअघि गएका थिए । आमाबुवा, सासुआमा र सालोचाहिँ सानी छोरी लिएर अलि पछाडि आउँदै थिए । उनीहरू जब तालको नजिक पुगे, त्यहाँ अर्जुन देखेनन् ।

छेउमै हातमा मोबाइल बोकेर उभिरहेकी जेठी नातिनीलाई उनका हजुरबुवा टीकारामले ‘बाबा खोइ त छोरी ?’ भनेर सोधे । अर्जुन उभिएको ढुंगातिर उनले हातले इशारा गर्दै भनिन्, ‘बाबा ऊ त्यहाँ जानुभएको छ । अहिले आउनुहुन्छ ।’ त्यतिबेलासम्म अर्जुन वैकुण्ठ तालमा डुबिसकेको अवस्थामा परिवारका अन्य सदस्यले देखेको दण्डपाणिले सुनाए ।

परिवारको साथमा वैकुण्ठ ताल घुम्न पुगेका अर्जुन सोही तालमै अस्ताए । परिवारका सदस्यहरूले तुरुन्तै प्रहरीलाई खबर गरे । प्रहरीले घटनास्थलबाट अर्जुनलाई बेहोस भएको अवस्थामा उद्धार गर्‍यो । उपचारका लागि सोही दिन भरतपुरस्थित सरकारी अस्पतालमा ल्याइपुर्‍यायो । तर अस्पतालसम्म आइपुग्दा नै उनले श्वास फेर्न छोडिसकेको दण्डपानीले बताए ।

‘एक छिन त कता गयो भनेर खोज्न थालेका अरे,’ दण्डपाणिले भने, ‘छोरीले फोटो खिच्न ढुंगामा चढेको बताएपछि मात्रै चिप्लिएर तालमा डुबेको थाहा भएछ । उद्धार गर्ने बेलासम्म के श्वास रहन्थ्यो !’

मृतक अर्जुनका ५ वर्ष र २ वर्षका दुई छोरी छन् । अर्जुन दुई दाजुभाइमध्ये जेठा हुन् ।

प्रतिक्रिया
Arjun-Gautam_4z8fZTQQFt