मानव तस्करीको आरोपमा पूर्वमन्त्री अधिकारी पक्राउ
मानव तस्करीको आरोपमा कोसी प्रदेशका निवर्तमान आन्तरिक मामिला तथा कानुनमन्त्री लिलाबल्लभ अधिकारी पक्राउ परेका छन् ।
उनलाई आइतबार बिहान विराटनगरबाट प्रहरीले नियन्त्रणमा लिएर काठमाडौँ ल्याउन लागिएको प्रहरी स्रोतले जानकारी दिएको छ । जिल्ला प्रहरी परिसर काठमाडौंले मन्त्री अधिकारीलाई नियन्त्रणमा लिएर उपस्थित गराउन पत्राचार गरेपछि उनलाई विमानमार्फत काठमाडौं लैजान लागिएको मोरङ प्रहरीका एक अधिकारीले बताए ।
अधिकारी एमालेको तर्फबाट मोरङ जिल्लाको प्रतिनिधिसभा निर्वाचन क्षेत्र नं २ को प्रदेशसभा निर्वाचन क्षेत्र (ख) बाट निर्वाचित प्रदेशसभा सदस्य हुन् ।
अधिकारीमाथि जापान भ्रमणका क्रममा मानव तस्करी गरेको आरोप लागेको थियो । उक्त आरोपलगत्तै उनले मन्त्री र पार्टी संसदीय दलको नेताबाट राजीनामा समेत दिइसकेका छन्।
साथै, उनलाई एमालेले पार्टीको सबै जिम्मेवारीबाट निलम्बन समेत गरिसकेको छ । मन्त्री अधिकारीलाई गृह मन्त्रालयले आवश्यकता अनुसार कानुनी दायरामा ल्याउन निर्देशन दिइसकेको स्रोतले बताएको छ।