बागमती प्रदेशमा फुटाइयो मन्त्रालय बिनाविभागीय मन्त्री श्रेष्ठले पाए झण्डै ४ महिनापछि जिम्मेवारी

पालिका डायरी
२७ कार्तिक २०८१, १४:३९
बागमती प्रदेशमा फुटाइयो मन्त्रालय बिनाविभागीय मन्त्री श्रेष्ठले पाए झण्डै ४ महिनापछि जिम्मेवारी

बागमती प्रदेशमा एक मन्त्रालय फुटाइएको छ । गत साउन ९ गते नियुक्त भएका मन्त्री मदुकुमार श्रेष्ठलाई दिन मन्त्रालय विभाजन गरिएको हो ।

मंगलबार (आज) बसको मन्त्रीपरिषद् बैठकले मन्त्रालय विभाजन गरेर मन्त्रालयको संख्या थप गरेको हो । यससँगै अब बागमतीमा मन्त्रालयको संख्या १४ पुगेको छ । गत साउन ९ गते मन्त्रीको सपथ खाएका श्रेष्ठले ११२ दिनमा विभागीय जिम्मेवारी प्राप्त गरेका हुन् । उनलाई जिम्मेवारी दिनका लागि सहकारी तथा गरिबी निवारण मन्त्रालय बनाइएको प्रदेश सरकारका प्रवक्ता सुरजचन्द्र लामिछानेले बताए ।

मुख्यमन्त्री कार्यालय मातहतमा रहेको गरिबी निवारण तथा संस्कृति पर्यटन तथा सहकारी मन्त्रालयबाट सहकारी छुट्याएर सहकारी तथा गरिबी निवारण मन्त्रालय बनाइएको उनले बताए ।

बागमतीमा कांग्रेसबाट मुख्यमन्त्री बहादुर सिंह लामा, बिना विभागीय मन्त्री श्रेष्ठ सहित अर्थमन्त्री अर्थमन्त्री कुन्दनराज काफ्ले, सामाजिक विकासमन्त्री हरिप्रभा खड्की, आन्तरिक मामिला तथा कानुनमन्त्री सुरचन्द्र लामिछाने, खानेपानी, उर्जा तथा सिँचाइमन्त्री श्याम बहादुर खड्का, युवा तथा खेलकुद मन्त्री मीनकृष्ण महर्जन र संस्कृति पर्यटन तथा सहकारीमन्त्री विमल ठकुरी गरी ७ मन्त्री छन् ।

यस्तै, एमालेबाट कृषि तथा पशुपन्छी विकास मन्त्री प्रकाश श्रेष्ठ, भौतिक पूर्वाधार विकासमन्त्री अमन कुमार मास्के, स्वास्थ्यमन्त्री किरण थापा, वन तथा वातावरणमन्त्री कृष्ण प्रसाद सिलवाल, उद्योग वाणिज्य भूमि तथा प्रशासनमन्त्री सुकमाया तामाङ र श्रम रोजगार तथा यातायातमन्त्री प्रेमभक्त महर्जन गरी ६ मन्त्री छन् ।

 

प्रतिक्रिया
Madushudan-_BaCHU8PM8A