उद्योगीसँग कुनै पनि हालतमा बक्यौता उठाएरै छाड्छु : कुलमान घिसिङ
नेपाल विद्युत् प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङले उद्योगीले उपभोग गरेको बिजुलीको रकम कानुन अनुसार कुनै पनि हालतमा उठाएरै छाड्ने दाबी गरेका छन् ।
बुधबार एक पत्रकार सम्मेलन आयोजना गर्दै उनले बक्यौता उठाउने कुराबाट आफू पछि नहट्ने र उच्च मनोबलसहित लाग्ने बताए । ‘उद्योगीले उपभोग गरेको बिजुलीको रकम कानुनअनुसार कुनै पनि हालतमा उठाउनेछु । विचलित हुनेछैन । उच्च मनोबलसाथ लाग्नेछु,’ उनले भने ।
नेपालको संविधान, ऐन, कानुनमा रहेर आफूले काम गरेको दाबी गर्दै उनले भने, ‘कुलमानले दुःख दिने काम गर्छ भन्नु गलत हो । नेपालको संविधान, ऐन, कानुनमा रहेर काम गरेको छु । त्यसो देश र संस्थाको हितका लागि हो ।’
संस्थाको राजस्व उठाउन खोज्दा नाजायज रकम उठाउने प्रयास भएको भन्दै आफूमाथि भन्नु गलत रहेको उनको भनाइ थियो । ‘हामीले उद्योगीले देशको अर्थतन्त्रमा गरेको योगदानको उच्च प्रशंसा गरेका छौँ । ममाथिका आरोपको खण्डन गर्दै देश र संथाको हित र राजस्व उठाउनेबाहेक मेरो अन्य राजनीतिक स्वार्थ छैन । संथामा रहेर राजनीति गर्नु र नाजायज फाइदा लिने कुनै उद्देश्य छैन । संस्थाको राजस्व उठाउन खोज्दा नाजायज रकम उठाउन खोज्यो भन्नु गलत हो,’ घिसिङले भने ।