हेटौंडा १२ को उपनिर्वाचन : यसकारण नगरकोटीको पोल्टामा पर्न सक्छ जीत

पालिका डायरी
४ मंसिर २०८१, १२:१५

हेटौंडा / हेटौंडा उपमहानगरपालिका–१२ को वडाअध्यक्ष पदमा हुन लागेको उपनिर्वाचनका लागि उम्मेदवारी दर्ता गराएका १४ जनामध्येका एक हुन् राजेश नगरकोटी। नेकपा एमालेको तर्फबाट उम्मेदवारी दर्ता गराएका नगरकोटीको यो दोस्रो पटक सोही वडाको वडाध्यक्ष पदका लागि उम्मेदवारी हो। २०७९ को स्थानीय तह निर्वाचनमा पनि नगरकोटीले वडाध्यक्ष पदमा चुनावी मैदानमा उत्रिएका थिए। त्यतिबेला झिनो मतले मात्रै हार व्यहोरेका नगरकोटीको आउँदो मंसिर १६ को उपनिर्वाचनमा जीत प्रायः निश्चित नै छ।

यस वडाको वडाध्यक्ष पदका लागि तीन ठूला दल नेकपा एमाले, नेपाली कांग्रेस र नेकपा माओवादी केन्द्रबीच प्रतिस्पर्धा हुने आकलन छ। त्यसमा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) र राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) को उम्मेदवारीलाई समेत प्रतिस्पर्धाकै रूपमा हेरिएको छ। तथापि, गत स्थानीय तह निर्वाचनमा वडाको वडाध्यक्ष पदबाहेक ४ वटै सदस्य पदमा जीत हासिल गरेको एमालेको पोल्टामा अध्यक्ष पद समेत पर्ने सम्भावना चुलिएको हो।

गत स्थानीय तह निर्वाचनमा हेटौंडा–१२ को अध्यक्ष पदमा माओवादीका ललित बहादुर घलान, कांग्रेसका अर्जुन तिवारी र एमालेका नगरकोटीबीच चुनावी प्रतिस्पर्धा भएको थियो । जसमा तीनै जना उम्मेदवारले उस्तै हाराहारीमा मत ल्याए । १३ सय ७१ मत ल्याएका माओवादीका घलान विजयी भए । कांग्रेसका तिवारीले १३ सय ४० मत ल्याउँदा नगरकोटीले १३ सय २५ मत प्राप्त गरे। अध्यक्ष पद माओवादीको पोल्टामा परेपनि वडासदस्यको सिंगो टिम नै नेकपा एमालेले जित्यो ।

माओवादीले नै विश्वास नगरिएका प्रधान

त्यसो त, माओवादीका घलान वडाकै निकै प्रभावशाली व्यक्ति हुन् । भनिन्छ नि आँखामा राख्दा पनि नबिझाउने। त्यस्तै हुन् उनी पनि। सोही कारण २०७४ मा विजयी भएको वडामा दोस्रो पटक पनि विजय हासिल गर्न सफल भए । आफ्ना प्यानलका सबै वडासदस्यहरूले हार व्यहोर्दा घलान मात्रैले जीत हासिल गर्न सफल भएका हुन् । वडाध्यक्ष पदमा विजयी भएका घलान जिल्ला समन्वय समिति मकवानपुरको प्रमुखमा निर्वाचित भएपछि यस वडा साँढे दुई वर्षदेखि कार्यवाहक अध्यक्षको रूपमा वडासदस्यले कार्यभार सम्हाल्दै आएका छन् ।

त्यसो त, आफूले दुईपटकसम्म जितेको वडामा आफ्नो विरासत जोगाउने दाउमा घलान मात्रै होइन सिंगो पार्टी पंक्ति नै लागिपरेको छ । तर माओवादीले उम्मेदवारको रूपमा खडा गरेको रविन प्रधान पार्टीका त्यति विश्वासिलो पात्र भने होइनन् । जसकारण पनि आउँदो मंसिर १६ मा घलानले बनाएको माओवादीको साख नभत्किएला भन्न सकिन्न। प्रधानको उम्मेदवारीले हेटौंडा–१२ कै माओवादीका पुराना नेताहरू असन्तुष्ट देखिएका छन् । माओवादीका केही नेताहरूको बलकै भरमा प्रधानको हातमा टिकट थमाइएको माओवादीका असन्तुष्ट नेताहरूको भनाइ छ ।

काठमाडौं बसेर व्यवसाय गर्दै आएका युवालाई एक्कासि टिपेर ल्याएर आफ्नो दलले मनलाग्दो ढंगले उम्मेदवार बनाएको ती नेताले बताए । यता, सधैं जितिरहने घलानले माओवादीको चुनाव चिन्हले मात्रै नभएर आफ्नो व्यक्तिगत प्रभावका कारण पनि सफल भएका हुन् । जुन विरासत प्रधानले जोगाउन सक्ने सम्भावना न्यून छ। यद्यपि, पार्टीका पोलिट्ब्युरो सदस्यदेखि केन्द्रीय सदस्य तथा सिंगो जिल्ला कमिटी नै प्रधानलाई जिताउन लागिपरेका छन् ।

गुटको असरमा पर्न सक्छन् तिवारी

यता, मुख्य प्रतिस्पर्धीको रूपमा हेरिएको नेपाली कांग्रेसका उम्मेदवार हुन् अर्जुन तिवारी। यस वडाको वडाध्यक्ष पदका लागि तिवारीको यो तेस्रो उम्मेदवारी दर्ता हो । २०७४ साल र गत स्थानीय तह निर्वाचनमा समेत उनले चुनावी प्रतिस्पर्धा गरेका थिए । तर उनलाई सधैं माओवादीका घलानले नै हराउँदै आएका छन् । यो पटक घलान चुनावी मैदानमा नभएकै कारण हेटौंडा–१२ को वडाध्यक्ष पद आफ्नो पोल्टामा पार्न सकिन्छ कि भन्ने दाउमा छन् उनी ।

तर सधैं माओवादीले हराइरहेको तिवारीलाई यो पटकको उपनिर्वाचनमा एमालेले हराउन सक्ने आकलन राजनीतिज्ञहरूले गरेका छन् । शैक्षिक पृष्ठभूमिबाट उदाएका नगरकोटीले तिवारीलाई पछि पार्दै जीत निकाल्न सक्ने आकलन उनीहरूले गरेका हुन् ।

हुन त, तिवारी वडाका प्रभावशाली नेता हुन्। तर पछिल्लो घटनाक्रमले उनको राजनीतिक छविमा धब्बा सृजना गरिदिएको छ । त्यति मात्रै होइन, कांग्रेसभित्रको आन्तरिक द्वन्द्वको सिकारले उनको वडा कार्यालयको यात्रामा ब्रेक लगाउला कि भन्ने तर्क समेत चुलिएको छ । मकवानपुरमा कांग्रेसभित्र प्रदेश सभापति तथा प्रदेश सांसद इन्द्रबहादुर बानियाँ र कांग्रेस सहमहामन्त्री डीना उपाध्याय गरी कांग्रेस दुई गुटमा विभाजित छ ।

तिवारी बानियाँका निकट व्यक्ति हुन् । जसको असर आउँदो उपनिर्वाचनमा नपर्ला भन्न सकिन्न । २०७९ को स्थानीय तह निर्वाचनमा विजयी भएका घलानभन्दा ३१ मतान्तरले मात्रै पराजित भएका तिवारी सो मतान्तर पुरेर विजयी हुने दाउमै चुनावी मैदानमा उत्रिएका हुन् ।

यसकारण जित्न सक्छन् नगरकोटी

मुख्य प्रतिस्पर्धीको रूपमा हेरिएका माओवादीभित्रको असन्तुष्टि र कांग्रेसभित्रको गुटको राजनीतिका कारण एमालेले हेटौंडा–१२ को उम्मेदवार बनाएको नगरकोटीले अध्यक्ष पद उम्क्याउने आकलन गर्न सकिन्छ। हुन त यो पटक रास्वपाले पनि आफ्नो उम्मेदवार खडा गरेको छ । माओवादी केन्द्र छोडेर रास्वपामा प्रवेश गरेका उम्मेदवार आशाबीर बलको उम्मेदवारीले एमालेका नगरकोटीलाई अझ सहयोग पुर्‍याउन सक्छ । गत स्थानीय तह निर्वाचनमा माओवादीले घलानलाई दिएको मत बलले काट्न सक्छन् ।

माओवादीका पुराना नेताको रूपमा आफ्नो राजनीतिक छवि बनाएका बल रास्वपामा लागेपनि वडाका धेरै मानिसहरूले बललाई नै विश्वास गर्ने गरेका छन् । जसले नगरकोटीलाई नै फाइदा पुग्न सक्ने अनुमान गर्न सकिन्छ। युवा संघ मकवानपुरको अध्यक्षसमेत रहेका उनलाई पार्टीले शिक्षित व्यक्ति भएकै कारण दोहोर्‍याएर टिकट दिएको बताइन्छ । त्यति मात्रै होइन, बागमती प्रदेशका पूर्व खानेपानी ऊर्जा तथा सिंचाई मन्त्री एकालाल श्रेष्ठको सचिवालयमा हुँदा हेटौंडा–१२ का लागि खानेपानी र सिंचाईको क्षेत्रमा करोडौं बजेट भित्र्याएका कारण पनि यहाँका मतदाताहरूले नगरकोटीलाई नै विश्वास गर्ने देखिन्छ ।

प्रतिक्रिया
IMG_8324