स्थानीय तह उपनिर्वाचन: कीर्तिपुरमा २ वटा मतपत्र हुने
काठमाडौँको कीर्तिपुर नगरपालिकामा हुन लागेको उपनिर्वाचनमा दुईवटा मतपत्र हुने भएको छ । यही मंसिर १६ गते देशभरका ३३ जिल्लाका ४१ स्थानीय तहमा उपनिर्वाचन हुँदैछ ।
कीर्तिपुर नगरपालिकामा प्रमुख र वडाध्यक्षका लागि दुईवटा अलग अलग मतपत्र रहने व्यवस्था गरिएको निर्वाचन आयोगकी प्रवक्ता निता पोखरेल अर्यालले जानकारी दिइन् । कीर्तिपुर नगरपालिकामा मेयर र दुईवटा वडाध्यक्ष पदका लागि उपनिर्वाचन हुन लागेको हो । कीर्तिपुरमा वडानम्बर १ र ४ मा वडाध्यक्ष पद रिक्त छन् ।
प्रवक्ता अर्यालका अनुसार कीर्तिपुरमा मतदाताले मेयरका लागि मतदान गरिसकेपछि सम्बन्धित वडाको लागि मतपत्र पाउने व्यवस्था मिलाइएको छ ।
यही मंसिर १६ गते आइतबार देशका ३३ जिल्लाका ४४ पदका लागि उपनिर्वाचन हुन लागेको हो । तर कैलाली र ओखलढुंगाका जिसस प्रमुख तथा रुकुम पूर्वको पुथा उत्तरगंगाको वडाध्यक्ष भने निर्विरोध निर्वाचित भइसकेका छन् । अब ४१ स्थानमा मात्रै उपनिर्वाचन हुने आयोगले जनाएको छ ।