सरकारी विद्यालयको करिब तीन कठ्ठा जग्गा निजी बोर्डिङ स्कूलको भोगचलनमा

राम कुमार दानी
७ मंसिर २०८१, २०:२१

मकवानपुरको भीमफेदी गाउँपालिका-६ भीमफेदी बजारस्थित श्री महेन्द्र माध्यमिक विद्यालयले ९१ वर्षपछि २०७३ जेठ २२ गते बुधबारका दिन आफ्नो नाममा जग्गाधनी पुर्जा प्राप्त गर्न सफल भयो। विद्यालयले आवश्यक प्रमाण र सत्य तथ्य अभिलेख नक्सा बमोजिम कि.नं. १० मा हालको महेन्द्र माविको कि.नं. १४ बाट पश्चिम दक्षिण हुँदै भीमफेदी गाउँपालिका भवनको सीमाना र भीमशेन मन्दिरसँगै १ बिगहा ७ कठ्ठा ५ धुर क्षेत्रफल रहेको जग्गा विद्यालयले आफ्नो नाममा ल्यायो।

विद्यालयको नाममा जग्गा आए पनि त्यहाँ रहेको भिम आधार सामुदायिक बोर्डिङ स्कूलले करिब दुई देखि तीन कठ्ठा जग्गामा हडपेर आफ्नो निजी विद्यालय वर्षौंदेखि सञ्चालन गरिरहेको स्थानीयहरू बताउँछन्। स्थानीयको कुरालाई तथ्य मानेर विद्यालय व्यवस्थापन समितिको अध्यक्ष ईश्वर श्रेष्ठसँग प्रत्यक्ष बुझ्दा पनि उनले दुई देखि तीन कठ्ठा जग्गा भिम आधार सामुदायिक बोर्डिङ स्कूलले हडपेको कुरा साँचो भएको बताए।

उनलाई सोध्दा, “निजी बोर्डिङलाई सरकारी जग्गा कसरी दिनुभयो?” भन्दा उनले भने, “हामीले निजी बोर्डिङलाई जग्गा दिएका होइनौं, पुरानो समितिले नै गरेको हो। अहिले हामी फिर्ताको लागि धेरै पहल गरिरहेका छौं।” उनले दुई पटक जिल्ला प्रशासन कार्यालयमा छलफल गरे, तर कुनै निष्कर्ष निस्किएन। प्रमुख जिल्ला अधिकारी सम्बन्धित ठाउँमै आएर हेरेर गए, तर केही भएन। भीमफेदी गाउँपालिकालाई पनि निर्णय सहित जानकारी गराइएको छ।

अध्यक्ष श्रेष्ठले अन्त्यमा भने, “अब कानूनी प्रक्रिया मार्फत जग्गा फिर्ताको प्रक्रिया गरिने छ।” पूर्व विद्यालय व्यवस्थापन समितिका अध्यक्ष रेशम लामाका अनुसार, २०७३ सालमा भूमि सुधार ऐन अनुसार ३५ दिने सूचना सहित नेपाल सरकारको प्रक्रिया अनुसार विद्यालयले कित्ता नम्बर १० बाट १ बिघा ७ कठ्ठा ५ धुर जग्गा बहालवाला विद्यालयको नाममा आएको हो।

लामाले भने, “भिम आधार सामुदायिक स्कूलले करिब २ देखि तीन कठ्ठा जग्गामा आफ्नो निजी स्कूल सञ्चालन गरिरहेको छ, जो गलत हो। हामीले पहिलेदेखि नै यो कुरा भनिरहेका छौं।” उनले बिना सर्त विद्यालयको जग्गा खाली गर्नु कानूनी दायित्व भएको बताए।

भिम आधार सामुदायिक स्कूलका सञ्चालक सुरेन्द्र ठिकेले भने, “म विद्यालय व्यवस्थापन समितिको अध्यक्ष हुँदा स्कूललाई चाहिने जुनसुकै बेला जग्गा खाली गर्न सहमति भएको छ। स्कूलले त्यहाँ के बनाउने हो, जानकारी सहित आए हामी स्कूल अन्यत्र सार्नेछौं।” विद्यालयलाई जग्गा आउनुमा आफ्नो ठूलो साथ भएको बताउँदै भने, “यो बीचको शैक्षिक सत्रको सुरुमा स्कूललाई आवश्यक परे जग्गा खाली गर्नेछौं।”

भिम आधार सामुदायिक स्कूल अहिले कक्षा पाँच सम्म सञ्चालन भइरहेको छ, जसमा ५२ जना विद्यार्थी अध्ययनरत छन्। गाउँपालिका र विद्यालय पटक-पटक आग्रह गरे पनि बोर्डिङ स्कूलका सञ्चालकले जग्गा खाली गराउन कुनै चासो नदेखाएको आरोप लगाइएको छ। सम्बन्धित विद्यालय परिवारले भने अन्तिममा पनि जग्गा खाली नगरे कानूनी बाटो खोज्नुपर्ने अवस्था आउने बताएका छन् ।

प्रतिक्रिया
20241122_201346