एउटा वडा अध्यक्ष जितेको रास्वपाले ११ ठाउँमा ५० मत पनि कटाउन सकेन

पालिका डायरी
१७ मंसिर २०८१, १४:२३

प्रतिनिधि सभाको चौथो दल राष्ट्रिय स्वतन्त्र पार्टी पहिलो पटक स्थानीय तह निर्वाचनमा सहभागी हुँदा अपेक्षा अनुसारको परिणाम हासिल गर्न सकेन  ।

रास्वपाले हालसम्म एउटा वडा अध्यक्ष पद जितेको छ भने विभिन्न ११ स्थानमा ५० मत पनि कटाउन सकेन । स्थानीय तह उपनिर्वाचन अन्तर्गत रास्वपाले काठमाडौँ महानगरपालिका–१६ को वडा अध्यक्ष पदमा जित हासिल गरेको छ । यहाँ रास्वपाकी रोजिना श्रेष्ठ दुई हजार ९०२ मतका साथ निर्वाचित भइन् ।

रास्वपाका उम्मेदवारको सबैभन्दा लज्जास्पद मत महोत्तरीको रामगोपालपुर नगरपालिका–२ मा आएको छ । वडा अध्यक्ष पदमा यहाँ रास्वपाले सुरसैद खाँलाई उम्मेदवार बनाएको थियो । उनले जम्मा ४ मत प्राप्त गरे । तिलगुफा नगरपालिका–४ मा पनि रास्वपाका लागि निराशाजनक रह्यो । यहाँ रास्वपाका गगन बलमे जम्मा ५ मत प्राप्त गरे ।

यस्तै, रौतहटको ईशनाथ नगरपालिका–७ मा रास्वपाका शेख असराजले जम्मा ६ मत प्राप्त गरे । रुन्टीगढी गाउँपालिका–४ मा रास्वपाका हिमबहादुर पुनले जम्मा ७ मत पाए । सिरिजंघा गाउँपालिका–३ मा रास्वपाका देवी प्रसाद पौडेलले ७ मत पाउँदा धनुषाधाम नगरपालिका–१ को वडा अध्यक्षमा रामनरेश दासले जम्मा १० मत प्राप्त गरे ।

यसैगरी ठाकुरबाबा नगरपालिका–४ को वडा अध्यक्ष पदमा रास्वपाका बासुदेव शर्माले १७, पूर्वीचौकी गाउँपालिका–६ को वडा अध्यक्षमा जानकी कुमार खड्का (कुँवर) ले ३१ मत पाइन् । गढी गाउँपालिका–६ को वडा अध्यक्षमा रास्वपाका शशि कुमार साहुले ३३ मत पाए । लालीगुराँस नगरपालिका–८ मा रास्वपाका सन्जिव खड्काले ३८ मत प्राप्त गरे ।

यस्तै मुसिकोट नगरपालिका–१ को वडा अध्यक्षमा रास्वपाका विकास थापाले जम्मा ४३ मत प्राप्त गरेका छन् । सर्केगाड गाउँपालिकाको उपाध्यक्ष पदमा मतगणना जारी रहँदा त्यहाँ पनि रास्वपाको उम्मेदवारको अवस्था दयनीय छ । अहिलेसम्म रास्वपाका उम्मेदवार बाँचा बुढाले जम्मा ५ मत प्राप्त गरेकी छन् । जबकि, त्यहाँ एमाले उम्मेदवार जाना शाही २८६ मतसहित अग्रस्थानमा रहँदा माओवादी केन्द्रकी देवकी तिमल्सिना २२५ मतका साथ दोस्रो स्थानमा छिन् ।

 

प्रतिक्रिया
Rastriya_Swotantra_Party