सर्लाहीको चुरे क्षेत्रमा तीन भालुको आक्रमणमा एक व्यक्ति घाइते
सर्लाहीको लालबन्दीमा पर्ने चुरे क्षेत्रका एक व्यक्तिलाई एकसाथ तीनवटा भालुले आक्रमण गर्दा घाइते भएका छन् ।
लालबन्दी नगरपालिका-१३ निवासी ५० वर्षीय मानबहादुर बम्जनलाई मंगलबार साँझ लालबन्दी-१३ स्थित चुरेको जंगलमा भालुले आक्रमण गरेको जिल्ला प्रहरी कार्यालय सर्लाहीले जनाएको छ ।
लालबन्दी बजारबाट साँझको समयमा जंगलको बाटो एक्लै घर फर्किँदै गर्दा आफूलाई एकसाथ तीनवटा भालुले आक्रमण गरेको बम्जनले बताएका छन् । बम्जनको लालबन्दीस्थित एक क्लिनिकमा उपचार भइरहेको छ ।
भालुको आक्रमणबाट उनको शरीरका विभिन्न ठाउँमा गहिरो चोट छ । भालुले आक्रमण गर्न थालेपछि आफूले रुखमा चढेर ज्यान जोगाएको बम्जनले बताएका छन् ।
रुखमा चढेर बसिरहेको बेला सोही बाटो भएर अरु बटुवाहरु आएपछि आक्रमण गर्ने भालु भागेका बम्जनको भनाई छ । भालु भागेपछि रुखबाट ओर्लिएका बम्जनलाई आफन्तले अस्पताल पुर्याएका हुन् ।