मनहरीमा स्कार्पिओ बिजुलीको पोलमा ठोकिएर ५० मिटर तल खस्यो, ४ जना घाइते
मकवानपुरको मनहरीमा आज बिहान स्कार्पिओ दुर्घटना हुँदा चारजना घाइते भएका छन् । मनहरी गाउँपालिका-९ खरङ्गास्थित पूर्वपश्चिम राजमार्गमा स्कार्पिओ गाडी दुर्घटना हुँदा ४ जना घाइते भएका प्रहरीले जनाएको छ ।
आज बिहान ५:३० बजेतिर बाराको निजगढबाट चितवनतर्फ जाँदै गरेको प्रदेश ३-०१-२२ च ६८६२ नम्बरको स्कार्पिओ गाडी अनियन्त्रित भई सडकको बायाँतर्फ रहेको विद्युतको पोलमा ठोक्किएर झण्डै ५० मिटर तल खसेको मकवानपुर प्रहरीले जनाएको छ ।
दुर्घटनाको खबर प्राप्त हुनासाथ ट्राफिक प्रहरी र स्थानीय उद्धार टोली घटनास्थलमा खटिएका थिए । दुर्घटनामा घाइते भएका चारै जनालाई तत्काल उद्धार गरी मनहरी अस्पताल पुर्याइएको थियो । त्यहाँ प्राथमिक उपचारपछि उनीहरूलाई थप उपचारका लागि भरतपुर, चितवन पठाइएको मकवानपुर प्रहरी प्रवक्ता डीएसपी श्यामु अर्यालले जानकारी दिए ।
दुर्घटनामा गाडी चालक ४५ वर्षीय धनबहादुर स्याङतान, उनकी श्रीमती ३८ वर्षीय हरिमाया लामा, छोरा १३ वर्षीय यरोश तामाङ र ३३ वर्षीय सबु लामा घाइते भएका छन् । घाइतेहरूको टाउको, अनुहार र छातीमा चोट लागेको भए पनि अवस्था सामान्यदेखि मध्यम रहेको प्रहरीले जनाएको छ ।
तीव्र गतिको कारण गाडी अनियन्त्रित भई विद्युतको पोलमा ठोक्किएको हुनसक्ने प्रहरीको अनुमान छ । घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।