पुस १३ देखि हेटौंडामा एघारौं सडक खाना महोत्सव हुने
हेटौंडा / हेटौंडामा एघारौं सडक खाना महोत्सव हुने भएको छ । होटल एसोसिएसन अफ मकवानपुरको आयोजनामा आगामी पुस १३ गतेदेखि पुस १६ गतेसम्म चार दिन सडक खाना महोत्सव हुने भएको हो ।
विहीबार (आज) पत्रकार सम्मेलन गर्दै “सडकमा जाऔं, सडकमा खाऔं र सडकमै रमाऔं” भन्ने नाराका साथ महोत्सव गर्न लागिएको महोत्सवका संयोजक तथा निवर्तमान अध्यक्ष शंखरलाल श्रेष्ठले जानकारी दिएका छन् ।
आन्तरिक पर्यटन प्रवर्द्धन तथा खानाका पारखीहरूलाई एकै स्थानमा खानाका परिकार पस्केर ग्राहकहरूलाई सेवा दिने र स्थानीय कलाकारहरूको नृत्य, गायन र ब्यान्डलाई समेत प्रवर्द्धन गर्ने उद्देश्यले यस महोत्सवको आयोजना गरिएको आयोजकले जानकारी दिएका छन् । महोत्सव हेटौंडा–४ स्थित हुप्राचौरको खेल मैदानदेखि पूर्वपट्टिको उत्तर–दक्षिण सडकमा हुने आयोजकले जनाएकाे छ ।
महोत्सवमा यस वर्ष करिब ५० वटा खानाका स्टल रहनेछन् । आयोजकको अनुमानअनुसार करिब ३० देखि ४० हजार दर्शक महोत्सवमा सहभागी हुनेछन् भने ६० देखि ७० लाखसम्मको कारोबार हुने अनुमान गरेका छन् ।
होटल एसोसिएसन अफ मकवानपुरको यो ११औं सडक खाना महोत्सव हो ।