शैक्षिक क्षेत्रमा ४ नम्बरको फड्को, विद्यार्थी र शिक्षक समेट्दै एक महिने खेलकुद महोत्सव
हेटौंडा । शैक्षिक हबको रुपमा रहेको हेटौँडा उपमहानगरपालिका–४ नम्बर वडा कार्यालयले शिक्षाको क्षेत्रमा हरेक बर्ष विभिन्न शैक्षिक गतिविधि सञ्चालन गर्दै आएको छ । शैक्षिक क्षेत्रको विकासका लागि जिल्लामै पहिलोपटक शैक्षिक गुणस्तर सुधार समिति नै बनाएर शिक्षा क्षेत्रको विकासमा विभिन्न कार्यक्रमहरु गर्दै आएको छ । यसै अनुसार यस वडा कार्यालयको आयोजना तथा शैक्षिक गुणस्तर सुधार समितिको व्यवस्थापनमा एक महिने खेलकुद महोत्सवको आयोजना गरिएको छ ।
‘राष्ट्रको लागि खेलकुद स्वास्थ्यको लागि खेलकुद’ भन्ने मूल नाराका साथ आगामी माघ ९ गतेदेखि फाल्गुन १७ सम्म वडा स्तरीय,नगर स्तरीय तथा जिल्ला स्तरीय खेलकुद महोत्सवको आयोजना गर्न लागिएको आज आइतबार हेटौँडामा पत्रकार सम्मेलनमार्फत जानकारी दिइएको हो ।
पत्रकार सम्मेलनमा वडाध्यक्ष नवीन सिग्देलले हेटौँडा ४ मा रहेको सामुदायिक तथा संस्थागत विद्यालय बिच प्रतिस्पर्धा, शैक्षिक अध्ययन तथा गुणस्तर सुधार एवम् विद्यार्थीको सृजनशील प्रतिभा उजागर तथा शारीरिक तथा बौद्धिक विकास गर्ने उद्देश्यले एक महिने खेलकुद महोत्सव आयोजना गर्न लागिएको जानकारी दिए ।
वडा कार्यालय र शैक्षिक गुणस्तर सुधार समिति र विद्यालयको व्यवस्थापनमा सञ्चालन हुने उनले जानकारी दिए । महोत्सवमा वडामा रहेका सामुदायिक र संस्थागत विद्यालयहरूमा विभिन्न खेलकुदहरू आयोजना हुनेछन् ।
माघ ९ गते नवोदय माविमा हाजिरी जवाफ प्रतियोगिता, माघ १३ गते आधुनिक माविमा वक्तृत्व कला प्रतियोगिता, माघ १४ गते सत्यम जेभियर्स माविमा वादविवाद प्रतियोगिता, माघ १५ गते श्रमिक माविमा नेपाली हिज्जे प्रतियोगिता र स्लो स्कुटी प्रतियोगिता, माघ २४ गते ब्रम्हदिक माविमा कविता प्रतियोगिता हुने आयोजकले वडाध्यक्ष सिग्देलले जानकारी दिए ।
त्यस्तै माघ २५ गते भुटनदेवी माविमा निबन्ध लेखन प्रतियोगिता, फाल्गुन २ गते विभिन्न दौड प्रतियोगिता, फाल्गुन ३ गते आधुनिक माविमा नगर स्तरीय भलिबल प्रतियोगिता, सोही दिन श्रमिक माविमा नगर स्तरीय फुटबल प्रतियोगिता र नगर स्तरीय क्रिकेट प्रतियोगिता, फाल्गुन ५ गते सत्यम स्कुलमा अफ वार प्रतियोगिता, सोही दिन नवोदय स्कुलमा नगर स्तरीय बास्केटबल प्रतियोगिता, र फाल्गुन १६ र १७ गते नगर स्तरीय शिक्षक भलिबल प्रतियोगिता हुने भएको छ । विजेताहरूलाई फाल्गुन ७ गते प्रमाणपत्र, शिल्ड र मेडल प्रदान गरिने छ ।