पदमपोखरी ठुलोथलीमा फागुन २ गते वृहत ल्होछार कार्यक्रम हुँदै

पालिका डायरी
१६ माघ २०८१, १७:२३

हेटौंडा । पदमपोखरी ठुलोथलीमा आगामी फागुन २ गते वृहत ल्होछार कार्यक्रम हुने भएको छ । हेटौंडा उपमहानगरपालिका वडा नम्बर १३ ठुलोथलीमा वृहत ल्होछार कार्यक्रम हुने भएको हो । सातौं संस्करणको रुपमा ठुलोथली गुम्बाडाँडा सोनाम ल्होछार बृहत साँस्कृतिक गरिने मूल समारोह समितिका संयोजक मदन बल लामाले बुधबार पत्रकार सम्मेलन आयोजना गरि बताएका छन् ।

नगर प्रमुख मीनाकुमारी लामाको प्रमुख आतिथ्यतामा स्थानीय र राष्ट्रिय कलाकारको साङ्गीतिक प्रस्तुतीका साथ ल्होछार मनाइने लामाले बताए । कार्यक्रममा करिब ९ लाख खर्च हुने अनुमान आयोजकको रहेको छ । हेटौंडा उपमहानगर, वडा नम्बर १३ र संस्कृति तथा पर्यटन मन्त्रालयले केही बजेट उपलब्ध गराएपनि सहयोगी दाताहरुको साथ सहयोगले कार्यक्रम सम्पन्न गरिने संयोजक लामाले बताए ।

कार्यक्रम स्थलमा विभिन्न खानेकुराका परिकारहरुको स्टल रहनुका साथै तामाङ समुदायका कला संस्कृति, भेषभुषाको प्रदर्शनी गरिने उनले बताए । पत्रकार सम्मेलनमा वडा नम्बर १३ का वडासदस्य उत्तम गोम्जा, समितिका पुर्व अध्यक्ष संगीता बल वाइवा लगायत समितिका पदाधिकारीहरुको उपस्थिती रहेको थियो ।

प्रतिक्रिया