बाबुआमाको कुटपिटबाट घाइते भरतको मृत्यु, हत्याको आरोपबाट बच्न आफ्नै छोरो नचिनेको बयान

पालिका डायरी
१६ फाल्गुन २०८१, २०:४९

मकवानपुरको इन्द्रसरोवर गाउँपालिका ३ सिस्नेरी अदुवाबारीमा बाबु-आमाको कुटपिटबाट घाइते भएका भरतकुमार भ्लोनको मृत्यु भएको छ । भरतकुमारको भरतपुरको सरकारी अस्पतालमा दिउँसो १ः४५ बजे मृत्यु भएको बागमती प्रदेश प्रहरी प्रमुख डीआईजी कृष्णहरि शर्मा पोखरेलले बताए ।

बाबुआमाको कुटपिटबाट उनको टाउको फुटेको र मस्तिस्कमा रगत जमेको थियो । उनीहरुको पहिल्यैदेखि सम्पत्तिको विषयमा झगडा रहेको र बिहीबार बेलुका पनि सोही विषयमा झगडा हुँदा कुटाकुट भएको थियो । भरतकुमारको कुटपिटबाट बाबु ६४ वर्षीय मीनबहादुर भ्लोन र आमा ६३ वर्षीया देवीमाया भ्लोन पनि घाइते भएका छन् । उनीहरुलाई छोरीले थप उपचारको लागि काठमाडौँतर्फ लिएर गएकी डीआईजी शर्माले भने ।

बेलुका कुटपिटका क्रममा हो हल्ला हुँदा छिमेकीले थाहा पाएर प्रहरीलाई खबर गरेका थिए । प्रहरीले ती गम्भीर घाइते व्यक्ति बारे सोध्दा बाबु आमाले नै नचिनेको बताएका थिए । उनीहरुले कुटपिटबाट गम्भीर घाइते भएको आफ्नै छोरालाई पनि नचिन्ने बताएका थिए । प्रहरीले सुरुमा तीनै जनालाई हेटौँडा अस्पताल लगिएको थियो । राति २ बजे थप उपचारका लागि भरतपुर पठाइएको थियो ।

यसअघि पनि बाबु आमा र छोराको बिचमा पटक पटक झगडा भएको खुलेको छ । आफूहरुले घरमा चोर्न आएको व्यक्ति भन्ठानेर कुटपिट गरेको र आफूहरुको आँखामा खुर्सानीको धुलो छर्किएर कुटपिट गरेपछि प्रतिकार गरेको प्रहरीलाई बताएका थिए ।

पछि भरतकुमारका भाइले कुटपिटबाट घाइते व्यक्ति आफ्नो दाइ रहेको र पहिल्यैदेखि घर झगडा रहेको प्रहरीलाई बताएका थिए । बाबुआमाले भान्सामा रहेकोे लोहोरो, दाउरा र भाँडाले छोरालाई प्रहार गरेका थिए । उनीहरुले यसअघि पनि आफ्नो घरबाट चोरी भएको बताएका छन् ।

शुक्रबार बिहान मीनबहादुरको घरमाथिको बारीमा भरतकुमार भ्लोनका नागरिकता, पासपोर्टसहितको झोला पनि फेला परेको थियो । त्यसअघिसम्म भने उनलाई कसैले पनि नचिनेको बताएका थिए । भरत चार / पाँच वर्षदेखि काठमाडौँ तिरै बस्ने गरेको परिवारले जानकारी दिएका छन् ।

काठमाडौँ बस्दा पनि बाबुआमालाई फोन गरेर धम्क्याउने, घर जाँदा झगडा गर्ने गरेको बताएका छन् । डीआईजी शर्माले घटना बारे जिल्ला प्रहरी कार्यालय मकवानपुरले थप अनुसन्धान गरिरहेको बताए ।

प्रतिक्रिया