हेटौंडा / जिल्ला प्रहरी कार्यालय मकवानपुरको टोलीले विष्फोटक पदार्थसहित एक व्यक्तिलाई पक्राउ गरेको छ।
हिजो बिहान मकवानपुरको हेटौंडा उपमहानगरपालिका-०३ स्थित प्रहरी चौकी बसामाडी अगाडि चेकजाँच गर्ने क्रममा प्रहरीले उक्त व्यक्तिलाई नियन्त्रणमा लिएको हो ।
बस्तीपुरबाट हेटौंडातर्फ आउँदै गरेको ना ८ ख ४२१४ नम्बरको यात्रुवाहक बसमा सवार हेटौंडा-१९ बस्ने ४३ वर्षीय अमृत घलानलाई शंका लागि जाँच गर्दा उनले बोकेको झोलाभित्र लुकाइछिपाइ राखिएको विष्फोटक पदार्थ फेला परेको मकवानपुर प्रहरीले जानकारी दिएको छ ।
प्रहरीका अनुसार झोलाभित्र कालो टेपले बेरिएको सेतो तार जडान गरिएका ६ थान विद्युतिय डेटोनेटर, रातो सेतो तार जडान गरिएका २० थान डेटोनेटर, तार नजोडिएको १४ थान डेटोनेटरसहित अन्य विभिन्न प्रकारका विष्फोटक पदार्थ फेला परेको हो।
घलानलाई नियन्त्रणमा लिई विस्फोटक पदार्थ सम्बन्धी अनुसन्धान भइरहेको प्रहरीले जानकारी दिएको छ ।