टिपरले मोटरसाइकललाई ठक्कर दिँदा एक युवकको मृत्यु, अर्का घाइते

काठमाडौँ महानगरपालिका-३२ तिनकुने गैरीगाउँ पेट्रोलपम्पअगाडि आज (शनिबार) बिहान टिपरले मोटरसाइकललाई ठक्कर दिँदा एक युवको मृत्यु भएको छ भने अर्का घाइते भएका छन् ।
जिल्ला प्रहरी परिसर काठमाडौँका प्रवक्ता प्रहरी उपरीक्षक अपिलराज बोहराका अनुसार बिहान ४:३० बजे प्र ३–०२–००३ प ६२४५ नम्बरको मोटरसाइकललाई रा १ ख २६२२ नम्बरको टिपरले ठक्कर दिएको हो । दुर्घटनामा मोटरसाइकलमा सवार काभ्रे पनौती नगरपालिका ११ घर भई ललितपुर धापाखेल बस्ने वर्ष २६ का सुकराम तामाङको मृत्यु भएको हो ।
उपचारका क्रममा बिहान ५:३० बजे ट्रमा सेन्टरमा उनको मृत्यु भएको प्रहरीले जनाएको छ । प्रहरी उपरीक्षक बोहराका अनुसार ठक्कर दिएर गौशालातर्फ भागेको टिपर खोजतलासका क्रममा विमानस्थलको कार्गो क्षेत्रमा फेला परे पनि चालक अझै फरार छन् ।
सो दुर्घटनामा मोटरसाइकलमै सवार काभ्रे बेथानचोकका रमेश तामाङ घाइते भएको र उनको उपचार ट्रमा सेन्टरमा भइरहेको प्रहरीले जनाएको छ ।
