हेटौंडामा राप्रपाका कार्यकर्ताले प्रचण्डको तस्बिर जलाए

हेटौंडा / हेटौंडामा पूर्वप्रधानमन्त्री तथा नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डको फोटो जलाइएको छ ।
शनिबारहेटौंडामा भइरहेको प्रजातान्त्रिक राष्ट्रिय युवा संगठनको अधिवेशनको उद्घाटन सत्रमा राष्ट्रिय प्रजातान्त्रिक युवा संगठनका केन्द्रीय सचिव निराजन बम पतालाले रोस्टममै पूर्वप्रधानमन्त्री तथा नेकपा माओवादी केन्द्रका अध्यक्ष प्रचण्डको फोटो जलाएका हुन् ।
सयौँ बैंक लुटिएको, देशमा आतंङ्क र अशान्त बनाएको, १७ हजार मानिसको मुत्यु र लाखौँ जनताको दुःखको कारण नै प्रचण्ड भएको भन्दै उनले विरोध गर्दै तस्बिर जलाएको बताए ।
उनले रोस्टममा प्रचण्डको फोटो जलाइरहँदा संघीय सांसद तथा भौतिक पूर्वाधार विकास समितिका सभापति दीपक बहादुर सिंह प्रमुख अतिथिको रुपमा थिए । उनले पनि तस्बिर जलाउनबाट नरोकेर मौन समर्थन गरेको पाइएको छ ।
यता, जिल्लामा पूर्वप्रधानमन्त्रीको तस्बिर जलाइरहँदा जिल्ला प्रशासन कार्यालय र मकवानपुर प्रहरी भने बेखबर बनेको छ । यस घटनाको विषयमा आफूलाई भर्खरै मात्रै जानकारी आएको मकवानपुरका प्रमुख जिल्ला अधिकारी स्कीम श्रेष्ठले बताइन् ।
आफू एउटा बैठकमा रहेको बताउँदै सीडीओ श्रेष्ठले यस विषयमा पछि कुरा गरिने बताइन् । शुक्रबार प्रचण्डले पूर्वराजा ज्ञानेन्द्र शाहलाई ‘भाइ मारा र मूर्ति चोर’ जस्ता गम्भीर आरोप लगाएका थिए ।
सिन्धुपाल्चोक मेलम्चीमा आयोजित पार्टीको कार्यक्रमलाई सम्बोधन गर्दै दाहालले भनेका थिए, ‘२५० वर्षसम्म राजा महाराजाले देशलाई कहाँ पुर्याए भन्ने नेपाली जनताले बिर्सिएको छ ? मूर्ति चोर को हुन् ? नेपालका ठूल्ठूला मूर्ति चोरेर अहिले राजा ? भाइमारा को हो ? आफ्नै वंश मास्नेले आएर फेरि धाक लगाउन मिल्छ ? सुन तस्कर को हो ? नेपाली जनताले बिर्सिएको भन्ठानेको ?’
