भीमफेदीको ४ नम्बर वडाले सुरु गर्‍यो ८७ युवालाई ४५ दिने तालिम

पालिका डायरी
६ चैत्र २०८१, २१:२०

हेटौंडा /  मकवानपुरको भीमफेदी गाउँपालिका वडा नम्बर ४ ले मोबाइल मर्मत, बाध्यबादन तथा नृत्य सम्बन्धी तालिम प्रदान गर्ने भएको छ। ४५ दिनसम्म सञ्चालन गरिने उक्त तालिम वडा अध्यक्ष सागर पाण्डेले आज एक कार्यक्रमको बीच उद्घाटन गरेका हुन्।

वडा कार्यालयले वडाकै बजेटमार्फत तालिम सञ्चालन गर्न लागेको वडा अध्यक्ष पाण्डेले बताए। आर्थिक वर्ष २०८१/०८२ को बजेट तथा कार्यक्रम तय गरेर वडाका ८७ जना युवाहरुलाई उक्त तालिम दिन लागिएको उनले जानकारी दिए।

मोबाइल मर्मत, बाध्यबादन तथा नृत्य सम्बन्धी तालिम प्रदान गर्न वडाले यस आर्थिक वर्षका लागि ४ लाख ५० हजार रुपैयाँ बजेट छुट्याएको अध्यक्ष पाण्डेले बताए। कार्यक्रमको उद्देश्य प्राविधिक सीपलाई गाउँगाउँसम्म पुर्याउनु र दक्ष जनशक्ति तयार गर्नु नै मुख्य उदेश्य रहेको उनले उल्लेख गरे।

अध्यक्ष पाण्डेले यो तालिममार्फत रोजगारीका अवसरहरू सिर्जना हुनुका साथै युवाहरू स्वरोजगार हुन सक्ने र ग्रामीण क्षेत्रमा सूचना प्रविधि सम्बन्धी दक्ष जनशक्ति तयार हुने अपेक्षा गरिएको बताए।

प्रतिक्रिया