नेपाल महिला एकता समाजद्वारा ध्यानाकर्षण, श्रमिककाे समस्या समाधान र हकहितका लागि लाग्छुः मन्त्री महर्जन

हेटौंडा / असंगठित क्षेत्रमा कार्यरत महिला श्रमिकहरूको हकहित सुनिश्चित गर्न आज एक कार्यक्रममा नेपाल महिला एकता समाज लगाएतका संस्थाहरुले श्रम, रोजगार तथा यातायात मन्त्री प्रेमभक्त मर्हजन समक्ष सात बुदे ध्यानाकर्षण पत्र बुझाएका छन् ।
काठमाडौं महानगरपालिका, भरतपुर, मकवानपुर लगायत जिल्लाका श्रमिकहरूको उपस्थितिमा नेपाल महिला एकता समाज, मकवानपुर महिला उत्थान समाजसहित अन्य ११ संस्थाको प्रतिनिधिहरुको सहभागितामा ध्यानाकर्षण पत्र बुझाएका हुन् । ध्यानाकर्षण पत्रमार्फत असंगठित श्रम क्षेत्रका महिला श्रमिकहरूले आफ्नो कार्यस्थलमा भोग्नुपरेको हिंसा, शोषण र विभेदको अन्त्य गर्न तथा श्रमिक अधिकार सुनिश्चित गर्न सातबुँदे माग प्रस्तुत गरिएको छ ।
त्यस्तै ध्यानाकर्षण बुझ्दै मन्त्री मर्हजनले श्रमिकहरुको समस्या समाधान र उनिहरुको हकहितका लागि मन्त्रालय र आफु लागिपरेको बाताउनु भएको छ । श्रमिकहरुको न्युनतम ज्याला, सुरक्षा लगायतका विषयको सुनिश्चिताको लागि श्रम ऐन निर्माणमा आफुहरु अघि बढेको बताउनु भएको छ । साथै श्रम मन्त्रालय सामाजिक सुरक्षा कोषको विषयमा सचेत रहेको र अब बजेटिङको समय आएको हुँदा आगामी आर्थिक वर्षमा मन्त्रालयले यस क्षेत्रमा काम गर्ने र त्यसका लागि आवश्यक डाटा संकलन गरि आवश्यक बजेटको सुनिश्चितता गर्ने मन्त्री मर्हजनले प्रतिवद्धता व्यक्त गर्नु भएको छ ।
सङ्गठनका प्रतिनिधिहरूले श्रमिक महिलाहरूको आवाज बुलन्द गर्न महिला श्रमिक इजलास तथा अन्तरक्रियात्मक कार्यक्रमहरू सञ्चालन गर्दै आएका छन्। ती कार्यक्रमहरूबाट प्राप्त निष्कर्ष, नीतिगत सिफारिस तथा फैसलाहरूलाई प्राथमिकतामा राख्दै मागहरू कार्यान्वयन गर्न बागमती प्रदेशका श्रम मन्त्री मर्हजनलाई ध्यानाकर्षण गराइएको हो ।
नेपाल महिला एकता समाजका सचिव धन श्रेष्ठका अनुसार, असंगठित क्षेत्रमा कार्यरत महिला श्रमिकहरूको अधिकार स्थापित गर्न स्थानीय तहका जनप्रतिनिधि, महिला मानव अधिकारकर्मी, नागरिक समाजका प्रतिनिधिसहित २५० भन्दा बढीको सहभागितामा उक्त मागपत्र प्रस्तुत गरिएको बताएकी छिन् ।
श्रमिक हकहितका लागि प्रस्तुत सातबुँदे माग तत्काल कार्यान्वयन गर्न आग्रह गर्दै प्रदेश सरकारलाई जिम्मेवार बन्न समेत श्रेष्ठले अनुरोध गरिएकी छिन्।