कैलाश गाउँपालिकामा विपन्नसँग अध्यक्ष कार्यक्रम: सात किसान तथा उद्यमीले सम्झौता गरे

हेटाैंडा / मकवानपुर जिल्लाको दुर्गम क्षेत्र मानिने कैलाश गाउँपालिकाले सञ्चालन गरेको ‘विपन्नसँग अध्यक्ष’ कार्यक्रममा सात जना किसान तथा उद्यमीले सम्झौता गरेका छन्। बिहीबार गाउँपालिकामा आयोजित एक कार्यक्रममा सात जनाले उक्त कार्यक्रममा सम्झौता गरेका हुन्।
गाउँपालिकाले व्यवसाय तथा उद्यमी विकास, कृषि र पशुपालन क्षेत्रलाई प्रवर्द्धन गर्ने उद्देश्यले ‘विपन्नसँग अध्यक्ष’ कार्यक्रम सञ्चालन गरेको हो। गाउँपालिकाका अध्यक्ष लोकबहादुर मुक्तानका अनुसार कार्यविधि तयार गरी विपन्न वर्गलाई बीउपुंजी अनुदान प्रदान गरिनेछ। “हामी दीर्घकालीन रुपमा आर्थिक पक्ष बलियो बनाउने उद्देश्यले यी कार्यक्रम सञ्चालन गर्दै आएका छौं,” अध्यक्ष मुक्तानले भने।
अध्यक्ष मुक्तानले अनुदान सही रूपमा सदुपयोग गरी व्यवसाय वृद्धि गर्ने लाभग्राहीलाई गाउँपालिकाले सम्मान समेत गर्ने बताए। साथै, उनले लाभान्वित व्यक्तिहरूलाई सकारात्मक आउटपुट आउने गरी काम गर्न आग्रह गरे। कार्यविधि अनुसार व्यवसाय मात्र नभई विपन्न वर्गलाई उपचार, काजक्रिया जस्ता अन्य आवश्यक क्षेत्रमा समेत सहयोग उपलब्ध गराइने उनले जानकारी दिए।
गाउँपालिकाको महिला तथा बालबालिका शाखा प्रमुख रमिला सापकोटाका अनुसार कुल १६ जना आवेदकमध्ये कार्यविधिमा तोकिएका मापदण्ड अनुसार सात जना छनोट गरिएको हो। छनोट भएकामध्ये दुई जनाले मौरी पालन, दुई जनाले टनेलभित्र तरकारी खेती, एक जनाले किराना व्यवसाय, एक जनाले टेलर्स, र एक जनाले कुटानी पिसानी मिल सञ्चालन गर्नका लागि सम्झौता गरेका छन्। गत वर्ष भने १७ जनाले उक्त कार्यक्रममा सहभागिता जनाएका थिए।
कार्यविधि अनुसार छनोट भएका प्रत्येक व्यक्तिलाई बीस हजार रुपैयाँ बीउपुंजी अनुदान प्रदान गरिने सापकोटाले जानकारी दिइन्। सम्झौता कार्यक्रममा गाउँपालिकाका अध्यक्ष लोकबहादुर मुक्तान, प्रमुख प्रशासकीय अधिकृत अमुल श्रेष्ठ, महिला तथा बालबालिका शाखा प्रमुख रमिला सापकोटा, तथा लाभग्राहीहरूको उपस्थिति रहेको थियो। सम्झौता सम्पन्न भएपछि लाभग्राहीहरूले कार्यविधि अनुसार आफूहरूले व्यवसाय सञ्चालन गरी आर्थिक उन्नति गर्ने प्रतिवद्धता व्यक्त गरे।