मनहरीमा बसको ठक्करबाट म्याजिक चालकको मृत्यु भएपछि पूर्वपश्चिम राजमार्ग अवरुद्ध

पालिका डायरी
१५ चैत्र २०८१, ११:१७
मनहरीमा बसको ठक्करबाट म्याजिक चालकको मृत्यु भएपछि पूर्वपश्चिम राजमार्ग अवरुद्ध

हेटौंडा /  मकवानपुरको मनहरीमा सवारी दुर्घटनामा म्याजिक चालकको मृत्यु भएपछि स्थानीयले पूर्व–पश्चिम राजमार्ग अवरुद्ध गरेका छन् ।

शुक्रबार बिहान मकवानपुरको मनहरी गाउँपालिका–६ स्थित लोथरमा बस र म्याजिक गाडी आपसमा ठोकिँदा मकवानपुरकै राक्सिराङ गउँपालिका–४ बस्ने ३२ वर्षीय सन्देश कोइरालाको मृत्यु भएको थियो । कोइराला म्याजिकका चालक हुन् ।

दुर्घटनापछि उनका आफन्त र स्थानीयले पूर्व–पश्चिम राजमार्गको मनहरी बजारमा सडक अवरुद्ध गरेका हुन् । अति आवश्यक बाहेका सबै सवारी साधन अहिले मनहरीमै रोकिएका छन् । राजमार्ग अवरुद्ध हुँदा यात्रुले सास्ती पाएका छन् ।

आज बिहान चितवनबाट हेटौंडातर्फ आउँदै गरेको बागमती प्रदेश ०३–००६ ख ५६८१ नम्बरको बस र मनहरीबाट चितवनतर्फ जाँदै गरेको बागमती प्रदेश ०३–००१ च ३०१२ नम्बरको म्याजिक आपसमा ठक्कर खाएका थिए ।

म्याजिकमा चालक मात्रै रहेको पाइएको जिल्ला प्रहरी कार्यालय मकवानपुरका प्रहरी निरीक्षक ठाकुरप्रसाद सापकोटाले जानकारी दिए ।
चालक कोइरालाको खुट्टा, टाउको र शरीरका विभिन्न भागमा चोट लागेर गम्भीर घाइते भएका थिए । उपचारको लागि उनलाई नयाँ मेडिकल कलेज भरतपुर लगिएको थियो । अस्पताल पुर्याउनासाथ काेइरालालाई डाक्टरले मृत घोषणा गरेका थिए ।

मृतकको शव अहिले सोही अस्पतालमा छ । बस चालकलाई नियन्त्रणमा लिइएको जिल्ला प्रहरी कार्यालय मकवानपुरले जनाएको छ ।

प्रतिक्रिया