६८ औं राष्ट्रिय सहकारी दिवस भब्यरुपमा मनाईने

पालिका डायरी
१५ चैत्र २०८१, २१:५१

हेटौंडा /  “मर्यादित सहकारी : सम्मुन्नत समाज” भन्ने नाराका साथ बागमती प्रदेश सहकारी तथा गरिबी निवारण मन्त्रालय, प्रदेश सहकारी बिकास बोर्डसंगको सहकार्य एवम् मकवानपुर जिल्ला सहकारी संघ र मकवानपुरका बिषयगत सहकारी संघ, संस्थाहरुको समन्वयमा ६८ औं राष्ट्रिय सहकारी दिवस विविध कार्यक्रम सहित भब्यरुपमा मनाईने भएको छ ।

६८ औं राष्ट्रिय सहकारी दिवस मूल समारोह समितिको बैठकले बागमती प्रदेश स्तरमा सहकारी दिवस मनाउनको लागि चैत्र १४ गते देखि सप्ताहब्यापी विभिन्न कार्यक्रम तय गरेकोछ । यस अघि नै ६८ औं राष्ट्रिय सहकारी दिवस मनाउन बागमती प्रदेश सहकारी विकास बोर्डका उपाध्यक्ष नारायणप्रसाद देवकोटाको संयोजकत्वमा मूल समारोह समिति गठन भईसकेको छ । समितिले बागमती प्रदेशभरका सहकारी संघ संस्थाहरुले सहकारी दिवसलाई प्रभावकारी रुपले सञ्चालन गर्न निर्देशन समेत दिएको छ ।

सहकारी दिवसको अवसरमा बागमती प्रदेशको राजधानी हेटौडामा मूल कार्यक्रम हुनेछ भने प्रदेशका सबै जिल्ला र पालिका तहमा विविध कार्यक्रमसहित सहकारी दिवस मनाईने मूल समारोह समिति संयोजक देवकोटाले बताए ।

मूल समारोह समितिको कार्यक्रम अन्तरगत १४ गते प्रदेश भरका सबै सहकारी संघ÷संस्थाको कार्यालयमा ६८ औं सहकारी दिवसको नारा सहितको ब्यानर राख्ने, कार्यक्रम अन्तरगत १८ गते सोमबार ‘ऋण लगानी, असुली र कानून कार्यान्वयनमा समस्या’ बिषयमा सहकारी संस्थाका अध्यक्ष र ब्यवस्थापकहरुसँग अन्तरक्रिया कार्यक्रम गर्ने १९ गते बिहान ७ बजेदेखि हेटौंडाको बुद्धचोकमा रक्तदान कार्यक्रम आयोजना गर्ने र २० गते बिहान ७ः०० बजे हेटौंडा १ चौकीटोलको रोपवे चौरबाट प्रभातफेरी सुरु भई रोयल प्यालेस हेटौंडामा प्रवचन, पुरस्कार तथा सम्मान वितरण गरिने र साँझ बागमती प्रदेश भरका सहकारी संघ संस्थाहरुले दिपावली गरी सहकारी दिवस समापन गरिने मूल समारोह समितिका कार्यालय सचिव गोबिन्द दहालले बताए ।

सचिवालयले सप्ताह अवधिमा बागमती प्रदेश भरका सहकारी संस्थाहरुले सञ्चालन गर्ने सहकारी दिवस लक्षित कार्यक्रमहरुको जानकारी सहकारी दिवस मूल समारोहको सचिवालयमा उपलब्ध गराउन अनुरोध गरेको छ । र उक्त कार्यक्रमहरुलाई समेत मूल समारोह समितिको कार्यक्रममा समावेश गरिने जानकारी कार्यालय सचिव दहालले बताए ।

बि.सं. २०१३ साल चैत्र २० गते चितवनमा बखान ऋण सहकारीको स्थापना भएको दिनलाई आधार मानी हरेक बर्ष चैत्र २० गते राष्ट्रिय सहकारी दिवस मानाईदै आएको छ ।

प्रतिक्रिया