नगर प्रहरीको अवरोधबीच प्रशासकीय प्रमुख गुरागाईंले गरे हाजिर, उपमेयर डंगोलको अध्यक्षतामा बैठक

नगर प्रहरीको अवरोधका बाबजुद काठमाडौँ महानगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत सरोज गुरागाईंले बिहीबार कार्यालय पुगेर हाजिर गरेका छन् ।
एक अधिकृतका अनुसार प्रमुख प्रशासकीय अधिकृत गुरागाईंले हाजिर गरेपछि उपमेयर सुनिता डंगोलको अध्यक्षतामा अहिले वडाध्यक्षहरूबीच छलफल भइरहेको छ।
मेयर बालेन्द्र शाह बालेन भने अनुपस्थित छन्। प्रमुख प्रशासकीय अधिकृत सरोज गुरागाईं हाजिर हुन आउन लागेपछि काठमाडौँ महानगरपालिका परिसरमा प्रहरीले तैनाथ गरिएको थियो।
प्रक्रिया पूरा नगरी नक्सा पार गरेको आरोप लगाउँदै महानगरपालिकाले छानबिन गरेका प्रमुख प्रशासकीय अधिकृत गुरागाईं आज कार्यालय आउने तयारी गरेपछि रोक्न महानगर प्रहरी तैनाथ गरिएको हो। उनलाई पुन: हाजिर हुन नदिने अडानमा मेयर बालेन्द्र शाह बालेन रहे पनि केन्द्रीय सरकारले भने उनैलाई काम गर्न दिनुपर्ने जिकिर गरिरहेको छ।
मेयर बालेनकै अडानका कारण प्रमुख प्रशासकीय अधिकृतविहीन बनेको काठमाडौँ महानगरपालिकाका कर्मचारीले ५ महिनादेखि तलब पाउन सकेका छैनन्। कर्मचारीहरू भने प्रमुख प्रशासकीय अधिकृत गुरागाईंलाई नै ल्याउनुपर्ने पक्षमा छन्।