पूर्व मन्त्री श्रेष्ठद्वारा युवा संघको प्रयासको प्रशंसा, खेलाडीलाई ठूलो हौसला

पालिका डायरी
२६ चैत्र २०८१, ०७:०२

हेटौंडा / स्थानिय खेलाडीको प्रोत्साहन गर्दै खेलाडी उत्पादन गर्ने उद्देश्यसहित राष्ट्रिय युवा संघ बागमती गाउँपालिका कमिटीले फुटबल प्रतियोगिता आयोजना गरेकोप्रति बागमती प्रदेशका पूर्वमन्त्री एवं प्रदेश सभा सदस्य एका लाल श्रेष्ठले प्रशंसा गरेका छन्।

बागमती गाउँपालिकाले प्रत्येक वर्ष ५० लाख खर्च गरी आयोजना गर्दै आएको खेलकुद प्रतियोगितामा स्थानीय खेलाडीहरू वञ्चित बन्नुपरेको र पुरस्कार राशी बाहिर गैरहेको अवस्था देखिएकोमा युवा संघ बागमतीले खेलाडीको भविष्य खोज्दै, खेलाडीमा देखिएको निराशालाई अन्त्य गर्न वडा-स्तरीय फुटबल प्रतियोगिता सञ्चालन गर्नु आफैंमा चुनौतीपूर्ण रहेको बताए। ठूलो चुनौतीका बाबजुद राष्ट्रिय युवा संघले प्रतियोगिता सम्पन्न गराएको र यसले स्थानीय खेलाडी तथा सबै युवाहरूको प्रतिनिधित्व गर्न सफल भएकोमा खुशी व्यक्त गरे। प्रतियोगिताले स्थानीय स्तरमा खेलाडी उत्पादन र खेलाडी प्रोत्साहनमा ठूलो हौसला थप्ने काम गरेको बताए।

राष्ट्रिय युवा संघ बागमती गाउँपालिका कमिटीका अध्यक्ष अशोक ग्यालानको अध्यक्षतामा सम्पन्न समापन कार्यक्रममा नेकपा (एमाले) प्रदेश कमिटी सदस्य, बागमती प्रदेश सरकारका पूर्वमन्त्री एवं प्रदेश सभा सदस्य एका लाल श्रेष्ठ प्रमुख अतिथि थिए।

कार्यक्रममा नेकपा (एमाले) बागमती प्रदेश कमिटी सदस्य छिरिङ दोर्जे पाख्रिन, अणराज जर्गा मगर, जिल्ला कमिटी उप–सचिव आरती पाठक, जिल्ला कमिटी सदस्य सानू लामा, एमाले बागमती गाउँपालिका अध्यक्ष नर बहादुर घलान, राष्ट्रिय युवा संघ जिल्ला अध्यक्ष राजेश नगरकोटी, बागमती गाउँपालिका उपाध्यक्ष फणिन्द्र तिमल्सिना लगायतको उपस्थिति रहेको थियो।

प्रतियोगितामा युवा संघले बागमती गाउँपालिकाभित्रका पूर्व खेलाडीहरूलाई समेत प्रमाणपत्रले सम्मान गरेको थियो।

प्रतिक्रिया