कैलाश–बैकुण्ठ जीपलाइन सञ्चालनमा, अध्यक्ष माेक्तानद्वारा उद्घाटन

हेटौंडा / मकवानपुरको कैलाश गाउँपालिका वडा नं. २ बैकुण्ठमा निर्माण गरिएको जीपलाइन नयाँ वर्षको अवसर पारेर बैशाख १ गतेबाट औपचारिक रूपमा सञ्चालनमा आएको छ । हिजो गाउँपालिकाका अध्यक्ष लोकबहादुर मोक्तानले एक कार्यक्रमको बीचमा जीपलाइनको उद्घाटन गरेका हुन् ।
नेपालमै पहिलोपटक स्थानीय तहको लगानीमा निर्माण गरिएको यो जीपलाइन एक हजार दुई सय मिटर लामो छ । जसले कैलाश र बैकुण्ठका दुई पहाडलाई जोड्छ । जीपलाइन पहिलो चरणको परीक्षण प्राविधिक टोलीसहित अध्यक्ष माेक्तान, वडा अध्यक्ष राजेन्द्र घिसिङ, योजना शाखा प्रमुख नरेन्द्र दत्त भट्ट र इन्जिनियर अनिल जोशी लगायतको उपस्थितिमा केही समय अघिनै गरिएको थियो । बैशाख १ गतेबाट भने पूर्ण रूपमा सञ्चालनमा आएको छ ।
कैलाश र बैकुण्ठका दुई पहाडलाई जोड्दै एक हजार दुई सय मिटर लामो जीपलाइन निर्माण गरिएको अध्यक्ष मुक्तानले बताए । उनले पर्यटन प्रवर्द्धन र विकासमा कैलाश गाउँपालिका पछि नहटेको बताउँदै जीपलाइन सञ्चालनले धादिङ जिल्लाको रोराङ, बेनीघाट र गजुरी गाउँपालिका, मकवानपुरका थाहा नगर, राक्सिराङ र मनहरी गाउँपालिका तथा छिमेकी जिल्लाका जीपलाइन पारखीहरूको गन्तव्य स्थल बनेको बताएका छन्।
धादिङसँग सिमाना जोडिएकाले जीपलाइन स्थल पुग्न बेनीघाट, थाहा नगर र मनहरी बजार तीनै क्षेत्रबाट करिब ३३ किलोमिटर सडक सञ्जाल रहेको मुक्तानले बताए । बैकुण्ठमा जीपलाइनसँगै विभिन्न पर्यटकीय पार्कहरू समेत निर्माण भइसकेका छन्, जसका कारण पर्यटकको थप आकर्षणको केन्द्र बन्दै गएको छ।
जीपलाइन सन्ध्या निर्माण सेवासँग ८८ लाख ५६ हजार रुपैयाँमा निर्माण सम्झौता गरिएको थियो । जीपलाइनको ४८ प्रतिशत काम अघिल्लो आर्थिक वर्षमा सम्पन्न भइसकेको थियो भने बाँकी काम हाल सम्पन्न गरी सञ्चालनमा आएको जनाइएको छ।
पर्यटन र वातावरणको प्रवर्द्धनलाई लक्ष्य राख्दै निर्माण गरिएको यो जीपलाइन आसपासका थाहा नगर, राक्सिराङ, मनहरी, रोराङ, गजुरी जस्ता स्थानका पर्यटकहरूलाई आकर्षणको केन्द्र बन्ने अपेक्षा गरिएको छ।