बकैयामा टिप्पर दुर्घटना, सिमेन्टका बोराले किचिँदा चार जना घाइते

हेटौंडा / मकवानपुरकाे बकैया गाउँपालिका–११ स्थित सिमात खोलाको ओरालोमा टिप्पर दुर्घटना हुँदा चार जना घाइते भएका छन् । हेटौंडाबाट काठमाडौंतर्फ जाँदै गरेको सिमेन्ट बोकेकाे बा.३ क ३१७७ नम्बरकाे टिप्पर ब्रेक फेल भई अनियन्त्रित भएर सडकको बीच भागमा पल्टिँदा विपरीत दिशाबाट आइरहेको मोटरसाइकल माथी सिमेन्टकाे बोरा खसेर लाग्दा घाइते भएकाे मकवानपुर जिल्ला प्रहरीले जानकारी दिएकाे छ ।
घाइतेहुनेहरुमा बा.९१प ४२७९ नम्बरकाे मोटरसाइकल चालक ललितपुर महालक्ष्मी नगरपालिका–९ निवासी २६ वर्षीय सागर खड्का रहेका छन् । खड्काको दुबै खुट्टामा चोट लागेर घाइते भएकाे प्रहरीले जनाएकाे छ। उनलाई पेटमा पनि भित्रि चोट लागेको जनाइएको छ भने अवस्था सामान्य रहेकाे छ । त्यस्तै, सोही मोटरसाइकलको पछाडि सवार उनकी श्रीमती २७ वर्षीया सजिना कार्कीको दाहिने खुट्टा सुन्निएको र बायाँ खुट्टामा चोट लागेको छ । उनकाे अवस्था पनि सामान्य रहेको र उनीहरूलाई उपचारका लागि हेटौंडा अस्पताल पठाइएको प्रहरीले जनाएकाे छ ।
दुर्घटनामा टिप्पर चालक ललितपुर बागमती गाउँपालिका–५ निवासी २३ वर्षीय मनिष बोम्जनको दाहिने खुट्टा र हातको बिचको औंलामा चोट लागेको छ । साथै, सोही टिप्परमा सवार सहचालक २४ वर्षीय सन्दिप स्याङ्तानको दुबै हातमा सामान्य चोट लागेको जनाइएको छ । दुबै जनालाई प्रारम्भिक उपचारका लागि ठिंगन स्वास्थ्य चौकीमा पठाइएको मकवानपुर प्रहरीले जानकारी दिएकाे छ।
दुर्घटना ब्रेक फेल भएर भएको प्रारम्भिक अनुमान गरिएको छ भने घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरी स्रोतले जनाएको छ।