रास्वपाले बोलायो केन्द्रीय समिति बैठक, महाधिवेशन र संगठन सबलीकरणबारे छलफल हुने

पालिका डायरी
३ बैशाख २०८२, १३:४६

 राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले केन्द्रीय समितिको बैठक बिहीबार बस्ने भएको छ। कार्यवाहक सभापति डीपी अर्यालको अध्यक्षतामा पार्टीको केन्द्रीय कार्यालय, बनस्थलीमा बैठक आह्वान गरिएको छ ।

पार्टीका कार्यवाहक प्रवक्ता मनीष झाका अनुसार बैठक वैशाख ५ गते (बिहीबार) दिउँसो २ बजे सुरु हुनेछ। बैठकमा विगतका निर्णयहरूको समीक्षा, हालसम्म भएका पार्टी गतिविधिको मूल्याङ्कन तथा केन्द्रीय सदस्यहरूबाट रिपोर्टिङ संकलन गरिने बताइएको छ ।

साथै, महाधिवेशनको तयारी, देशव्यापी जनयात्रा कार्यक्रम, पार्टीको नीति तथा कार्यक्रम निर्माणका लागि गठन गरिएको ब्लुप्रिन्ट कार्यदलको प्रगति विवरण, लिडरसीप एकेडेमीको योजना, प्रशिक्षण कार्यक्रम तथा संगठन सबलीकरणसम्बन्धी छलफल हुने झाले जानकारी दिए ।

रास्वपाले पछिल्लो समय पार्टी संगठन विस्तार र आन्तरिक संरचना सबलीकरणतर्फ विशेष ध्यान दिँदै आएको छ । यही सन्दर्भमा बैठकबाट महत्वपूर्ण रणनीतिक निर्णयहरू आउने अनुमान गरिएको छ ।

पार्टीका स्थायी समिति सदस्यहरू, प्रदेश संयोजकहरू तथा विभिन्न कार्यदलका प्रतिनिधिहरूको उपस्थिति रहने बैठकमा समसामयिक राजनीतिक परिस्थितिबारे समेत गम्भीर छलफल हुने तयारी छ ।

प्रतिक्रिया