भीमफेदीमा मोटरसाइकल दुर्घटना, एक जना गम्भीर घाइते

हेटौंडा / मकवानपुरको भीमफेदी गाउँपालिका–६, जुरिखेतस्थित कुलेखानी–भीमफेदी–काठमाडौं सडकखण्डमा आज दिउँसो करिब १:३० बजे एक मोटरसाइकल दुर्घटना हुँदा एक जना गम्भीर घाइते भएका छन् ।
घाइते हुनेमा मोटरसाइकल चालक हेटौंडा उपमहानगरपालिका–१८ ठुलोदमार घर भएका ४३ वर्षीय प्रदिप श्रेष्ठ रहेकाे मकवानपुर प्रहरीले जानकारी दिएकाे छ ।
काठमाडौबाट हेटौंडातर्फ आउँदै गरेको बा ४५ प ३४६० नम्बरको मोटरसाइकल सडकको भित्तामा ठोक्किएर दुर्घटनामा परेको प्रहरीले जनाएकाे छ । दुर्घटनाको खबर प्राप्त हुनासाथ प्रहरी निरीक्षक ललिता ढकालको कमाण्डमा खटिएको प्रहरी टोली घटनास्थलमा पुगि घाइतेको उद्धार गरी उपचारका लागि हेटौंडा पठाएकाे थियाे ।
दुर्घटनामा श्रेष्ठको अनुहारमा गम्भीर चोट लागेको र उनलाई तत्काल उद्धार गरी हेटौंडा अस्पतालमा उपचारको लागि भर्ना गरिएको प्रहरी स्रोतले जानकारी दिएको छ।
घटनाको सम्बन्धमा थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।
