सुनाचुरी दुर्घटना: यी हुन् १६ घाइते (विवरण सहित)

मकवानपुरको मनहरी गाउँपालिका–६ सुनाचुरीमा यात्रुबहाक बस दुर्घटना हुँदा घाइते भएका यात्रुहरुको पहिचना खुलेको छ। बिहीबार (आज) ५ बजेतिरको समयमा इटहरीबाट भैरहवा जाँदै गरेको बस सुनाचुरीमा दुर्घटनामा परेको थियो। लु २ ख ५९९ नम्बरको बस सडकबाट १० मिटर तल खस्दा १६ जना यात्रु घाइते भएका थिए। ती यात्रुहरुको पहिचान खुलेको मकवानपुर प्रहरीले जनाएको छ।
जसमा पूर्वी नवलपरासीको कावासोती नगरपालिका–४ की १६ वर्षीया इशा महत्तो (निधारमा चोट), सिराहाको धनगढीमाई नगरपालिका–६ निवासी ६८ वर्षीय राम चन्द्र महत्तोको (हात र खुट्टामा चोट), विराटनगर महानगरपालिका–६, मोरङकी २४ वर्षीया पुजा राई (हात र टाउकोमा चोट) रहेका छन्।
यस्तै, भारत घर भई हाल भैरहवा बस्दै आएका २२ वर्षीय महोमत गुल्सेर (टाउकोमा चोट) , भारत घर भई हाल भरतपुर महानगरपालिका–१ पुल्चोक बसोबास गर्ने २५ वर्षीय सौरभ मण्डलको (हात र खुट्टामा चोट) हाल वतन नखुलेकी करिब ४५-४६ वर्षीया मिना चौधरी ((टाउकोमा चोट) रहेका छन्। उनीहरुको चितवनको भरतपुरस्थित नयाँ मेडिकल कलेजमा उपचार भैरहेको छ।
यस्तै, सप्तरीको छिन्नमस्ता गाउँपालिका–५ का २७ वर्षीय सम्भु कुमार चौधरी, सुनसरी धरान नगरपालिका–१७ का ३९ वर्षीय खडक बिक, र उदयपुरको बेला नगरपालिका–१ की ३० वर्षीया पुजा बस्नेत रहेका छन्। उनीहरु तीनैजनाको ढाडमा चोट लागेको मकवानपुर प्रहरी प्रवक्ता प्रहरी नायव उपरीक्षक (डीएसपी) श्यामु अर्यालले बताए।
उनका अनुसार सुनसरी बराह क्षेत्र नगरपालिका–२ का १५ वर्षीय सुदिप काफ्ले (दाहिने काँध र टाउकोमा चोट), ठेगाना नखुलेका ३० वर्षीय सुजन काफ्ले (टाउको र बायाँ खुट्टामा चोट), सोही स्थानका २ वर्षीय हमान थारु (निधारमा चोट), कावासोती नगरपालिका–४ की १४ वर्षीया उर्मिला महत्तो, पश्चिम सुस्ता नगरपालिका निवासी २७ वर्षीया मनिषा पुलामी मगर, सप्तरी खड्का नगरपालिका–१ का ३३ वर्षीय सरोज चौधरी, र सुनसरी बराहक्षेत्र नगरपालिका–३ का ३४ वर्षीय विसन धामी घाइते भएका छन्।
१६ जना यात्रु घाइते भएका छन्। घाइतेमध्ये केहीको अवस्था सामान्य रहेको छ भने अधिकांशको अवस्था मध्यम रहेको अस्पताल स्रोतले जनाएको छ। उनीहरुको पुरानो मेडिकल कलेजमा उपचार भइरहेको डीएसपी अर्यालले बताए।
दुर्घटनाको कारण खुल्न बाँकी रहेको र आवश्यक अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय मकवानपुरले जनाएको छ।
