राप्रपाले निषेधित क्षेत्रमै विरोध प्रदर्शन गर्ने, ७७ वटै जिल्लामा सभा गर्ने घोषणा

राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) ले आगामी वैशाख ७ गते काठमाडौंको निषेधित क्षेत्रभित्रै विरोध प्रदर्शन गर्ने निर्णय गरेको छ। आज बसेको केन्द्रीय कार्यसम्पादन समितिको बैठकले सो निर्णय गरेको हो।
बैठकपछिको जानकारी दिँदै राप्रपा अध्यक्ष राजेन्द्र लिङ्देनले उक्त प्रदर्शन संबैधानिक राजसंस्था पुनःस्थापना र पार्टीका नेता तथा कार्यकर्ताहरूको रिहाइको मागसहित आयोजना गर्न लागिएको स्पष्ट पारे।
लिङ्देनका अनुसार पछिल्ला दिनहरूमा राप्रपाका नेताहरू तथा कार्यकर्ताहरूको गिरफ्तारी र राजनीतिक गतिविधिहरूमा भएको हस्तक्षेपविरुद्ध पार्टीले सङ्गठित प्रतिवाद गर्ने निर्णय गरेको छ। उनका अनुसार, “संवैधानिक राजसंस्थाको पुनःस्थापनाको हाम्रो अडान यथावत् छ। पार्टीका नेता-कार्यकर्ताको रिहाइ सुनिश्चित गर्न हामीले सडक संघर्षको बाटो रोजेका हौं।”
राप्रपाले निषेधित क्षेत्र तोडेर विरोध प्रदर्शन गर्ने निर्णयसँगै सुरक्षा संवेदनशीलता पनि बढ्न सक्ने देखिएको छ। यसअघि सरकारले सिंहदरबार, राष्ट्रपति भवन, प्रधानमन्त्री निवास लगायतका क्षेत्रलाई निषेधित क्षेत्र घोषणा गर्दै त्यहाँ विरोध प्रदर्शन गर्न निषेध गरेको थियो।
राप्रपाले वैशाख ७ गतेको काठमाडौं विरोध कार्यक्रमपछि वैशाख ९ गते देशभरिका ७७ वटै जिल्लामा एकसाथ विरोधसभा गर्ने पनि निर्णय गरेको छ।
