कैलाशमा विंगर गाडी दुर्घटना : पाँच जना घाइते

पालिका डायरी
७ बैशाख २०८२, १३:१४
accident

हेटौंडा / मकवानपुरकाे कैलाश गाउँपालिका–१० सुकुभन्ज्याङमा हिजाे (शनिबार) साँझ एक विंगर गाडी दुर्घटना हुँदा पाँच जना घाइते भएका छन्। हेटौंडाबाट आमडाँडातर्फ गइरहेको बा.प्र.०३-००१ ज १८६ नम्बरको विंगर गाडी ब्रेक फेल भएर दुर्घटनामा परेको बागमती प्रदेश प्रहरी कार्यालय हेटौंडाले जानकारी दिएकाे छ ।

गाडीमा १० जना यात्रु सवार थिए। गाडी अनियन्त्रित भई सडकबाट तल खस्दा पाँच जना यात्रु घाइते भएका हुन् । घाइतेहरूमध्ये सबैलाई उपचारका लागि तत्काल हेटौंडा अस्पताल पठाइएको प्रहरीले जानकारी दिएको छ ।

घाइतेमध्ये कैलाश गाउँपालिका–३ आमडाँडा निवासी ३० वर्षीया प्रतिज्ञा मोक्तान, १४ वर्षीय कृष मोक्तान र ८ वर्षीय कृष्ण मोक्तानको शरीरका विभिन्न भागमा भित्री चोट लागेको छ । तीनै जनाको अवस्था सामान्य रहेकाले आज (आइतबार) अस्पतालबाट डिस्चार्ज गरिएका छन् ।

त्यस्तै, १८ वर्षीया अनिता थिङको शरीरका विभिन्न भागमा चोट लागेको छ भने १९ वर्षीया सरिता थिङको टाउकोमा चोट लागेकाले उनको अवस्था मध्यम रहेको बताइएको छ । हाल उनीहरूको हेटौंडा अस्पतालमा उपचार भइरहेको जनाएकाे छ ।

घटना सम्बन्धमा थप अनुसन्धान भइरहेको जनाइएको छ भने दुर्घटनाग्रस्त गाडी हाल घटनास्थलमै रहेको छ । प्रहरीका अनुसार गाडीको ब्रेक फेल भई दुर्घटना भएको प्रारम्भिक अनुमान गरिएको छ ।

प्रतिक्रिया