कैलाश ९ का तीनवटा टोल पूर्ण सरसफाइ उन्मुख समुदाय घोषणा

हेटौंडा / मकवानपुरको कैलाश गाउँपालिका वडा नम्बर ९ का तीनवटा टोललाई पूर्ण सरसफाइ उन्मुख तथा सुरक्षित खानेपानीयुक्त समुदाय घोषणा गरिएको छ। बुधबार एक कार्यक्रमका बीच गाउँपालिका अध्यक्ष लोकबहादुर मुक्तानले खैरेनी, घैराङटार र जोइटी टोललाई पूर्ण सरसफाइ उन्मुख तथा सुरक्षित खानेपानीयुक्त समुदाय घोषणा गरेका हुन्।
घोषणा गर्दै अध्यक्ष मुक्तानले सरसफाइ र खानेपानीका सूचकहरूलाई अहिले मात्र नभई आगामी दिनहरूमा पनि पालना गर्नुपर्ने बताएका छन्। स्वास्थ्य र शिक्षासँगै सरसफाइ र खानेपानी उत्तिकै महत्त्व रहेको र दीगो विकास लक्ष्यका लागि यस्ता कार्यक्रमहरू आवश्यक रहेको उनको भनाइ थियो।
घर-परिवार हुँदै समुदायसम्म फैलिएको यस अभियानले सकारात्मक प्रभाव पार्नुका साथै गाउँपालिकाले विभिन्न संघसंस्थासँग साझेदारीमा कार्यक्रमहरू सञ्चालन गरिने समेत उनले जानकारी दिए।
सरसफाइमा महिला दिदीबहिनीहरूको ठूलो भूमिका रहेको उल्लेख गर्दै अध्यक्ष मुक्तानले अभियानका सूचकहरूमा आगामी दिनमा पनि उनीहरूकै सक्रियता आवश्यक रहेको बताए। स्वच्छ वातावरण सिर्जनाका लागि सरसफाइले टेवा पुग्ने भएकाले टोल मात्र नभई वडाका अन्य टोलहरूमा पनि पूर्ण सरसफाइ कायम गरी वडा घोषणा गरिनुपर्ने उनको भनाइ थियो।
रोगव्याधिबाट बच्न र स्वस्थ जीवनयापनका लागि सफा पानी र सरसफाइ अनिवार्य रहेको उपाध्यक्ष बालकुमार मल्लले बताए। ‘एक घर, एक धारा’ अभियानलाई सार्थकता दिन गाउँपालिकाले खानेपानी र सरसफाइका क्षेत्रमा साझेदारी गर्दै कार्यक्रमहरू सञ्चालन गर्दै आएको जानकारी उनले गराए।
घोषणा पश्चात आगामी दिनहरूमा पनि सूचकहरूलाई पूर्णरूपमा पालना गर्न समूह र टोलबासीहरूलाई आग्रह गरिएको छ।
यस अभियानमा आरआरएन, सिडिपिएन, डब्लुडब्लुएच, प्रेम सेवा समाज लगायत विभिन्न संस्थाहरूको साझेदारीमा गाउँपालिकाले खानेपानी, सरसफाइ तथा शिक्षा क्षेत्रमा काम गरिरहेको छ।
घोषणाका लागि पाँच वटा सूचक र २३ वटा उपसूचकको आधारमा काम गरिएको आरआरएनका प्रशासन अधिकृत धर्मराज उपाध्यायले बताए। कार्यक्रममा तीनवटा टोललाई घोषणा पश्चात प्रमाणपत्र प्रदान गरिएको थियो।
वडा नम्बर ९ का वडाध्यक्ष भूवनसिं घलानको अध्यक्षतामा सम्पन्न कार्यक्रममा वडा नम्बर १० का वडाध्यक्ष सूर्यबहादुर ब्लोन, कार्यपालिका सदस्य गोरीमाया भुलुन, वडा सदस्य ज्ञानबहादुर घलान, आरआरएनका प्रशासन अधिकृत धर्मराज उपाध्याय, प्रेम सेवा समाजका कार्यक्रम संयोजक उद्धव चेपाङ, नामटार स्वास्थ्य चौकीका प्रमुख अमित श्रेष्ठ लगायत सहकारी, विद्यालय, सुरक्षा निकायका प्रतिनिधिहरूको उपस्थिति रहेको थियो।
