मनहरीमा मोटरसाइकलको ठक्करबाट वृद्धा मृत्यु

मकवानपुरको मनहरी गाउँपालिका–७ स्थित लच्कामा मोटरसाइकलको ठक्करबाट एक वृद्धाको मृत्यु भएको छ । बिहीबार (हिजो) साँझ ८ः३० बजेतिरको समयमा बाटो काट्दै गरेकी वृद्धालाई मोटरसाइकलले ठक्कर दिएको हो । मोटरसाइकलको ठक्करबाट अन्दाजी ६१ वर्षीया वृद्धाको मृत्यु भएको मकवानपुर प्रहरीले जनाएको छ ।
बिहीबार साँझा पूर्व–पश्चिम राजमार्गमा मनहरीबाट सुनाचुरीतर्फ जाँदै गरेको बा ६२ प १११४ नम्बरको एनएस मोटसाइकलले ती वृद्धालाई ठक्कर दिएको खुलेको मकवानपुर प्रहरी प्रवक्ता प्रहरी नायव उपरीक्षक (डीएसपी) श्यामु अर्यालले जानकारी दिए । घटनापछि अनुसन्धान गर्ने क्रममा मोटरसाइकल चालक मनहरी गाउँपालिका–५ प्रतापपुर बस्ने ३२ बर्षका मन्शु गुरुङलाई मोटरसाइकल सहित नियन्त्रणमा लिएको डीएसपी अर्यालको भनाइ छ ।
दुर्घटनापछि फरार रहेका चालक गुरुङलाई उनकै घरबाट राति ९ः३० बजेको समयमा इलाका प्रहरी कार्यालय मनहरीको टोलीले नियन्त्रणमा लिएको हो । घटनाको जानकारी पाए लगत्तै इलाका प्रहरी कार्यालय मनहरीबाट प्रहरी निरीक्षक विशाल सापकोटाको कमाण्डमा टोली घटनास्थलमा खटिएको थियो। खोजतलास गर्दै जाने क्रममा लेगार्ड र भाइजर कुचिएको र फुटेको अवस्थामा फेला परेपछि प्रहरीले उनीमाथि अनुसन्धान गरेको थियो ।
घाइते महिलालाई तत्काल उद्धार गरी उपचारको लागि मनहरी अस्पताल लगिएको र त्यहाँ सामान्य उपचारपछि थप उपचारको लागि हेटौंडा अस्पताल रेफर गरिएको थियो। उनलाई उपचारका लागि हेटौंडा अस्पताल ल्याइएकोमा उपचारको क्रममा डाक्टरले मृत घोषणा गरेको डीएसपी अर्यालले बताए । हाल मृतक वृद्धाको शव हेटौंडा अस्पतालमा राखिएको छ भने उनको सनाखत हुन नसकेको प्रहरीले जनाएको छ। घटनासम्बन्धी थप अनुसन्धान भइरहेको मकवानपुर प्रहरीले जनाएको छ ।
