१८ महिना पछि प्रतिनिधि सभाबाट भन्सार विधेयक पारित

पालिका डायरी
१६ बैशाख २०८२, १६:०२
१८ महिना पछि प्रतिनिधि सभाबाट भन्सार विधेयक पारित

प्रतिनिधि सभाको आज बसेको बैठकले भन्सार सम्बन्धी विधेयक पारित गरेको छ। अर्थ मन्त्रालयद्वारा प्रस्तुत यो विधेयक पारित हुन करिब १८ महिना लागेको हो।

मंगलबारको बैठकमा उपप्रधानमन्त्री तथा अर्थमन्त्री विष्णुप्रसाद पौडेलले ‘भन्सार विधेयक, २०८०’ पारित गरियोस् भन्ने प्रस्ताव संसदमा पेश गरेका थिए। संसदको बहुमतले उक्त प्रस्ताव पारित गर्दै विधेयकलाई अगाडि बढाएको हो। अब यो विधेयक राष्ट्रिय सभामा पेस गरिनेछ।

यो विधेयक तत्कालीन अर्थमन्त्री डा. प्रकाशशरण महतले २०८० सालको असोज १८ गते प्रतिनिधि सभामा दर्ता गरेका थिए। त्यसपछि अर्थ समितिमा छलफल गरी २०८१ वैशाख १४ गते समितिबाट पारित भई प्रतिनिधि सभामा फिर्ता आएको थियो। लामो समयसम्म समितिमा रहेका कारण विधेयकको प्रक्रिया ढिलो भएको बताइएको छ।

विधेयकमा नेपालको भन्सार प्रणालीलाई अन्तर्राष्ट्रिय मापदण्डअनुसार प्रभावकारी बनाउने, भन्सार प्रशासनमा पारदर्शिता र उत्तरदायित्व अभिवृद्धि गर्ने, आधुनिक प्रविधिको प्रयोगद्वारा कार्यक्षमता बढाउने तथा राजस्व सङ्कलनमा सुधार ल्याउने जस्ता विषयहरू समेटिएको छ। साथै, नेपालले पछिल्लो समयमा गरेको अन्तर्राष्ट्रिय सम्झौता र व्यापारिक अभ्यासलाई ध्यानमा राख्दै केही नयाँ प्रावधानहरू पनि समावेश गरिएको जनाइएको छ।

प्रतिक्रिया