काठमाडौं / दक्षिण अफ्रिकी मुलुकसँगै यूरोपका विभिन्न देशहरुमा कोरोना भाइरसको नयाँ भेरियन्ट ‘ओमिक्रोन’ भेटिन थालेपछि नेपालले अफ्रिकी नागरिकलाई अर्को व्यवस्था नभएसम्मका लागि प्रवेशमा रोक लगाएको छ ।
कूटनीतिक, अफिसियल र आपतकालीन कामबाहेक सबै अफ्रिकी देशका नागरिकलाई अर्को व्यवस्था नभएसम्मका लागि नेपाल प्रवेशमा रोक लगाइएको गह मन्त्रालयले जनाएको हो । उक्त निर्णय कार्यान्वयनका लागि अध्यागमन विभागले समेत आफू मातहतका अध्यागमन कार्यालयहरुलाई परिपत्र गरिसकेको बताइएको छ ।
यसका साथै अफ्रिकी मुलुक हुँदै यात्रा गरेका अन्य देशका नागरिकलाई पनि कोरोना परीक्षणको रिपोर्ट र औचित्यका आधारमा मात्रै आवश्यक निर्णय लिन निर्देशन दिइएको गृहले जनाएको छ ।
त्यस्तै विश्व स्वास्थ्य संगठन ‘डब्ल्यूएचओ’ले पनि नेपाललगायत दक्षिण–पूर्वी एसियाका देशहरुलाई उच्च सतर्कता अपनाउन सुझाव दिइसकेको छ ।