हेटौंडा-भरतपुर-बर्दघाट प्रसारण लाइन र आँपटारी सबस्टेसन सञ्चालनमा

पालिका डायरी
५ भाद्र २०८०, १३:४८
हेटौंडा-भरतपुर-बर्दघाट प्रसारण लाइन र आँपटारी सबस्टेसन सञ्चालनमा

भरतपुरको आँपटारीमा २२० केभीको सबस्टेसन र हेटौँडा-भरतपुर-बर्दघाट प्रशारण लाइन सञ्चालनमा आएको छ। नेपाल विद्युत प्राधिकरण अन्तरगर्तको प्रसारणलाइन र सबस्टेशन प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले उद्घाटन गरे।

मर्स्याङ्दी कोरिडोर २२० केभी प्रसारण लाइन आयोजना २२०/१३२ केभी, भरतपुर सबस्टेशन र हेटौँडा–भरतपुर–बर्दघाट २२० केभी प्रसारण लाइन आयोजना तथा १२० केभी सबस्टेसनको एकै पटक उद्घाटन गरिएको हो।

प्रधानमन्त्री दाहालले पूर्व–पश्चिम विद्युत प्रसारण लाइनको बटलनेकको रूपमा रहेको बताए। विद्युत उत्पादनमा क्षमता वृद्धि भएको बताउँदै  प्रसारण लाइन र वितरण प्रणाली गुणास्तरीय बनाउनेतर्फ ध्यान दिएको उनले बताए।

नेपालमै खपत गर्न विद्युतीय सवारी साधन र विद्युतीय चुलोको प्रयोग बढाउँदै लैजानुपर्ने बताए। नेपालमा उत्पादन भएको विद्युत भारत र बंगलादेशमा निर्यात गर्ने वातावरण बनेको उनको भनाई छ। आगामी चीन भ्रमणमा प्रसारण लाइन बनाएर विद्युत पठाउने गरी तयारी गरेको उनले बताए।

कार्यक्रममा उर्जामन्त्री शक्तिबहादुर बस्नेतले विद्युत ट्रिप्लिङको समस्या समाधान हुने बताए। उनले २०७३ मा प्रधानमन्त्री दाहालको नेतृत्वमा विद्युतमा सुधार हुन थालेको बताउँदै अहिले गुणस्तरीय बनाउनेतर्फ लागेको बताए। उर्जा सचिव दिनेश घिमिरेलेले १३२ केभीको मात्रै प्रसारण लाइन हुँदा पूर्वको विद्युत पश्चिम र पश्चिमको विद्युत पूर्वमा लैजान अपुग भएकाले २२० केभीको प्रसारण लाइन निर्माण गरिएको बताए।

उनले देश भित्र विद्युत उत्पादन भैरहेपनि गुणास्तर नहुँदा बेला बेला लाइनमा जाने गरेकोमा सब स्टेशनले समस्या समाधान गर्ने बताए। प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङले प्रसारण लाइन निर्माणमा विश्व बैंक, युरोपियन युनियनले सहयोग गरेको बताए। उनले प्रसारण लाइन विस्तार र सबस्टेसन निर्माणले अब गुणस्तरीय विद्युत वितरण गर्न सकिने बताए।

प्राधिकरणका उप कार्यकारी निर्देशक दीर्घायु कुमार श्रेष्ठले सबस्टेसन निर्माण १ अर्ब ५२ करोड रूपैयाँ लागत रहेको जानकारी दिए।सबस्टेसन निर्माणमा युरोपियन युनियनको ऋण सहयोग रहेको छ। त्यस्तै हेटौँडा–भरतपुर–बर्दघाट २२० केभी प्रसारण लाइन ५ अर्ब ५२ करोड लागतमा निर्माण भएको उनले जानकारी दिए। यसमा आयोजना निर्माणमा नेपाल सरकारसँगै विश्व बैंककोसमेत ऋण लगानी रहेको छ।

प्रतिक्रिया
sub-st_CCdDyr7wH4