सेयरबजारमा देखियो उत्साह, यो साता बढेर दोब्बर पुग्यो कारोबार
यस साता सेयरबजार २०२९.७८ विन्दुमा अडिएको छ। २००७.०६ विन्दुमा खुलेको बजार साताभरी २२.७२ अंकले बढेर २०२९.७८ विन्दुमा पुगेको हो।
यस साता चार कारोबार दिन खुलेको बजार ३ दिन उकालो लाग्दा १ कारोबार दिन घटेको थियो। कारोबारको पहिलो कारोबार दिन ४२.१४ अंकले घटेको बजारमा त्यसपछि निरन्तर बढ्न सफल रह्यो।
मार्जिन प्रकृतिको सेयर धितो रहेको एकल ग्राहक कर्जाको १२ करोड सीमा संशोधन हुने चर्चा चलेसँगै बजारमा एकाएक उत्साह देखियो। जसकारण पछिल्लो तीन कारोबार दिनमा नेप्से ६५ अंक सफल देखियो।
बैंक तथा वित्तीय संस्थामा अधिक तरलता रहेको बेला सेयर धितोमा रहेको एकल ग्राहक कर्जाको सीमा बढाउने चर्चा हुनथालेपछि लगानीकर्ता उत्साहित भए।
लगानीकर्तामा उत्साह बढेसँगै सेयरबजारसँगै कारोबार बढेर दोब्बर भएको छ। अघिल्लो साता नेप्सेमा ४ अर्बको कारोबार भएकोमा यो साता कारोबार बढेर ८ अर्ब नाघेको छ।
स्थानीय तहको पैसा निक्षेपमा गणना गर्न पाउने व्यवस्था आएको केही समयमै एकल ग्राहक कर्जाको सीमा बढाइने चर्चाले लगानीकर्ताको मनोबल बढेको छ।
सरकारले स्थानीय तहको पैसा वित्तीय संस्थालाई निक्षेपमा गणना गर्न दिएको केही समयमा ब्याजदर घटाउने र एक ग्राहक कर्जाको सीमा संशोधन गर्ने कुराले लगानीकर्ताको मनोबल बढ्न गई बजारसँगै कारोबार बढ्न थालेको जानकार बताउँछन्।
अर्थमन्त्री डा. प्रकाशशरण महतले सार्वजनिक रुपमा ब्याजदर घटाएर अर्थतन्त्र चलाएमान बनाउने अभिव्यक्ति दिँदै आइरहेका छन्। अर्थमन्त्री महतको निर्देशनमा असोजमा सरकारी बैंकले समेत ब्याजदर घटाए।
मन्त्री महतले अर्थतन्त्र र सेयरबजारको लागि नीतिगत रुपमा केही सुधार गर्ने देखिएपछि लगानीकर्ता हौसिएका छन्।
यस साता सेन्सेटिभ इन्डेक्स १.९२ अंकले बढेको छ। उता फ्लोट इन्डेक्स १.४५ अंक बढेको छ। यो साता सेन्सेटिभ फ्लोट इन्डेक्स ०.२६ अंकले बढेको छ। यस साता नेप्सेको कूल बजार पुँजीकरण ३० खर्ब ७४ अर्ब छ।