नदीले बगाउँदा १ जनाको मृत्यु
गोरखाको दरौदी नदीले बगाएर १ जनाको मृत्यु भएको छ ।
आईतबार साँझ करीब ५ बजेको समयमा भैंसी चराएर घरतर्फ लैजाँदै गर्दा दरौदी नदी तर्ने क्रममा उनको ज्यान गएको हो ।
सिरानचोक गाउँपालिका–५ जरेबरका ४२ वर्षीय हरिबहादुर सुनार मृत अवस्थामा फेला परेका जिल्ला प्रहरी कार्यालय गोरखाले जनाएको छ । दरौदी नदीले बगाएको खबर पाउने बित्तिकै खोजतलासको क्रममा सोमबार बिहान ८ बजेतिर गोरखा नगरपालिका–१२ को खत्रीबेशीस्थित दरौदी नदीको बीच भागमा रहेको बगरमा उनको शव भेटिएको जिल्ला प्रहरी कार्यालय गोरखाका प्रहरी निरीक्षक शेखर खड्काले बताए ।
उनले भने, ‘आफन्तले आज बिहान नदीको बीच भागमा रहेको बगरमा उहाँको शव भेट्नुभएको छ ।’ शव भेटिएपछि पोस्टमार्टमका लागि जिल्ला अस्पताल पठाइएको उनले जानकारी दिए ।
प्रतिक्रिया