एन्फाबाट पंकज नेम्वाङलाई निकाल्ने कर्माछिरिङको चाहनामा ‘ब्रेक’

पालिका डायरी
२४ कार्तिक २०८०, ११:०२

 

हेटौंडा / अखिल नेपाल फुटबल संघ (एन्फा) बाट अध्यक्ष पंकजविक्रम नेम्वाङलाई निकाल्ने निवर्तमान अध्यक्ष कर्मा छिरिङ शेर्पाको योजना असफल भएको छ।

बागमतीको राजधानी हेटौंडामा बिहीबार भएको साधारणसभामा अध्यक्ष नेम्वाङ लगायत महासचिव किरण राईको बर्खास्ती एक मात्रै एजेन्डा पेस भएको थियो।

गत भदौ २५ गते एन्फाका ४९ जना सदस्यहरूले अध्यक्ष नेम्वाङ र महासचिव किरण राईको बर्खास्ती माग गर्दै अविश्वास प्रस्ताव राखेका थिए। अर्को रोचक कुरा के छ भने नेम्वाङको बर्खास्तीका लागि भएको विशेष साधारणसभामा उनको विपक्षमा मत नै खसेन। जति मत खस्यो, सबैमा नेम्वाङकै पल्लाभारी भयो।

विशेष साधारण सभा सुरु हुनुपूर्व केहीबेर निर्वतमान अध्यक्ष कर्मा छिरिङ शेर्पा लगायत उनको पक्षका सदस्यहरुको हो-हल्लाले सभा नै बिथोलियो। साधारसभामा अध्यक्षको बर्खास्तीको एजेण्डा पेस गर्ने व्यक्तिलाई बोल्ने मौका नदिएको भन्दै शेर्पा पक्षले विरोधमा हो-हल्ला गरेका थिए। त्यसपछि केहीबेर सुरक्षाकर्मीले हस्तक्षेप गरेर अवस्था शान्त बनाएपछि अध्यक्ष नेम्वाङको पक्ष र विपक्षमा मतदान सुरु भएको थियो।

कुल ८७ सदस्य मतदाता रहेको एन्फामा जम्मा ५३ जना सदस्य मतदानमा सहभागी भए। बर्खास्तीको एजेण्डा पेस गर्ने कर्माछिरिङ पक्षका सदस्यहरु मतदान प्रक्रियामा सहभागी भएनन्। यद्यपि, भदौ २५ मा बर्खास्तीको माग गर्दै अविश्वासको प्रस्ताव दर्ता गराउने ४९ मध्ये धेरैजसोले कर्मा छिरिङको साथ छोडेको आजको मतपरिणामले देखाएको छ।

कूल ८७ जनामध्ये अविश्वासको प्रस्तावमा हस्ताक्षर गर्ने ४९ जनामध्येबाट अध्यक्ष नेम्वाङको बर्खास्तीको विपक्षमा १५ जनाले मतदान गरे। अर्थात् नेम्वाङलाई नै समर्थन गरे। भदौ २५ को अंकगणितलाई हेर्ने हो भने मतदानमा सहभागी नहुनेको संख्या ३८ हुनुपर्नेमा जम्मा २३ मात्रै रह्यो।

यता, आफ्नो पक्षका सदस्यहरूले बर्खास्तीको माग गरेर एजेण्डा टेबल गर्ने असन्तुष्ट समूह मतदान प्रक्रियामा सहभागी नै भएनन्। विशेष साधारणसभामा आफ्ना कुरा राख्न नदिएको भन्दै कर्मा समूह मतदान हलबाट बाहिरिएको थियो। तर नतिजासम्म कुरिरहेका कर्माछिरिङ आफू केही कमजोर भएछु भन्ने कुरा महसुस भएको बताउँछन्।

‘फुटबललाई विश्वमा चिनाउन एन्फाले केही गर्नुपर्छ। यस्ता कार्यमा यो कार्यसमिति योग्य छैन भनेर हामीले परिवर्तनको लडाइँ लडेको हौँ,’ उनले भने, ‘तर बर्खास्तीका लागि लडेको लडाइँमा साँच्चै कति मान्छे सहभागी भए, क्लियर भएको छ। यो वैधानिक लडाइँ हो।’

यो विशेष साधारणसभाले नेपाली फुटबलको इतिहासमा निर्लज्जको अवस्था आएको उनले बताए। ‘प्रस्तावको पक्षमा हस्ताक्षर गर्दा कसैले जबरजस्ती गरेको छैन। तर त्यही मान्छेले प्रस्तावको पक्षमा मत दिनुपर्ने ठाउँमा विपक्षमा मत जाहेर गरिदियो। यो सबै हेर्दा नेपाली फुटबलमा अझै खराबी रहेछ भन्ने कुरा प्रष्ट भयो’, उनले अगाडि भने।

अध्यक्ष बन्न चाहन्थे कर्मा
एन्फाका पूर्वअध्यक्ष कर्मा दोस्रो कार्यकालमा आफैँ दोहोरिन चाहन्थे। तर ६ असार २०७९ मा भएको निर्वाचनमा उनलाई नेम्वाङले हराइदिए। त्यसबेला नेम्वाङले ४५ मत पाए भने पराजित शेर्पाले ३९ मत ल्याए।

कर्मा अध्यक्ष हुँदा नेम्वाङ वरिष्ठ उपाध्यक्ष थिए। आफूलाई ४५ मतले हराएका नेम्वाङलाई अध्यक्षबाट बर्खास्ती गर्न उनले ८७ सदस्यमध्ये ४९ सदस्यलाई आफ्नो पक्षमा पारेर बर्खास्तीको माग गर्दै अविश्वास दर्ता गराएका थिए।

यदि बिहीबार सम्पन्न विशेष साधारणसभामा अध्यक्ष नेम्वाङको बर्खास्तीको पक्षमा बहुमत पुगेको भए फेरि निर्वाचन हुने एन्फाको विधानमा उल्लेख छ।

प्रतिक्रिया
anfa photo