मकवानपुरगढी गाउँपालिकाको हिउँदे अधिवेशन माघ ५ गते हुने
हेटौंडा / मकवानपुरगढी गाउँपालिकाको हिउँदे अधिवेशन यही माघ ५ गते शुक्रबार मकवानपुरगढी गाउँपालिकाको वडा नं.८ स्थित बुढिचौरमा हुने भएको छ ।
अधिवेशनमा बजेट संशोधन गर्ने तयारी गरिएको छ । पालिकाले चालु आर्थिक वर्षमा लिएको लक्ष्य भन्दा निक्कै कम राजश्व संकलन भए पछि केही बजेट संसोधन गर्ने तयारी गरेको हो । पालिकाले नदीजन्य पदार्थबाट सोचे अनुसार राजश्व उठाउन नसकेको गाउँपालिकाको एक कर्मचारीले बताएका छन ।
पालिकाले चालु आर्थिक वर्षमा ४ करोड रुपैयाँ भन्दा बढी आन्तरिक राजश्व उठाउने लक्ष्य लिएको थियो । लिएको लक्ष्यको आधा राजश्व सम्म उठ्न सकेको छैन। हिउँदे अधिवेशनले बजेट रकमान्तरण गर्ने र आन्तरिक स्रोतबाट गर्ने कार्यक्रमको बजेट पनि कटौती गर्ने तयारी गरेको छ ।
मकवानपुरगढी गाउँपालिकाले चालु आर्थिक वर्षको लागि ६२ करोड २ लाख ५६ हजार रुपैयाँको बजेट ल्याएको थियो ।