कार्यालय प्रमुखको सरुवाको माग गर्दै औद्योगिक क्षेत्रका कर्मचारी आन्दोलित

पालिका डायरी
२२ माघ २०८०, ०९:३८

हेटौंडा / हेटौंडा औद्योगिक क्षेत्र व्यवस्थापन कार्यालयका कर्मचारीहरु हातमा कालो पट्टी बाँधेर शान्तिपूर्ण आन्दोलनमा उत्रिएका छन्। हेटौंडा औद्योगिक क्षेत्र व्यवस्थापन कार्यालयका प्रमुख भोजराज विनाडीले आफुहरुलाई अनुचित व्यवहार गरेको भन्दै कर्मचारीहरु बुधबारदेखि हातमा कालो पट्टी बाँधेर आन्दोलनमा उत्रिएका हुन्।

कार्यालय प्रमुख भोजराज विनाडीले कर्मचारीहरु माथि अभद्र व्यवहार गर्ने, कार्यसम्पादनमा असहयोग गर्ने तथा कार्यमुल्याङ्कनमा व्यवास्ता गर्ने लगाएत कारण देखाउँद कर्मचारीहरु उनी विरुद्ध आन्दोलित हुनपर्ने स्थिी सिर्जना भएको कार्यालयका प्रशासन प्रमुख मनिष मिश्र बताउँछन्। कार्यालय प्रमुखमा हुनपर्ने गुण नभएका कारण कार्यसम्पादनमा समस्या भैरहेको मिश्रको भनाइ छ।


‘कार्यालयमा रहेका कर्मचारीहरुलाई गर्ने अभद्र व्यवहार सच्याउनुपर्ने सुझाव सहित कार्यालय प्रमुख विनाडीको सरुवा हुनैपर्ने एकशुत्रे माग सहित आफूहरु आन्दोलित हुन बाध्य भएका हौं,’ मिश्रले भने। प्रमुख विनाडीले मानसिक यातना दिने, धम्काउने, वृत्तिविकासमा अवरोध गर्ने, कार्यस्थलमा काम गर्ने वातावरण नदिने, सेवाग्राहीलाई पनि सोहि प्रकारको व्यवहार गर्ने गरेको कर्मचारीहरुको आरोप छ।

बारम्बार प्रमुखलाई व्यवहार सधार्न अनुरोध गर्दा पनि परिवर्तन नभएकोले बाध्य भएर सेवा प्रवाहलाई अवरोध नहुने गरी आन्दोलन गरिरहेको औद्योगिक क्षेत्र व्यवस्थापन समितिका लेखा अधिकृत दीपक राज आचार्यको गुनासो छ। ‘यसअघि कार्यालयमा कर्मचारी र हाकिम बीचमा सौहार्दपूर्ण वातावरण हुन आवश्यक छ भनेर पटक पटक अनुरोध गर्दा पनि उहाँमा केही परिवर्तन पाउँन सकेनौं,’ आचार्यले भने, ‘यस्तो भएपछि हामीले कुनै धेरै माग राखेका छैनौं। बस् उहाँको यहाँबाट सरुवा हुनपर्यो। यस्ता हाकिमसँग हामीले काम गर्न नसक्ने भयौं भन्ने मात्रै हाम्रो माग हो।’


गत १७ गतेदेखि सुरु भएको सात दिने शान्तिपूर्ण आन्दोलनका बिषयमा कार्यालय प्रमुख विनाडीले भने कर्मचारीहरुको माग सम्म सुन्न समेत नचाहेको कार्यालयमा कार्यरत कर्मचारीहरुको गुनासो छ। कार्यालय कुन बेला आउने? कुन बेला निस्कने ठेगान पनि छैन। हामीसँग छलफल, समन्वय गर्नका लागि कुनै पहलकदमी गरिएको छैन, कार्यालय सहयोगी तेजराज थिङ बताउँछन्।

कार्यालयका सहायक निर्देशक भने कर्मचारी र प्रमुख बीचमा यस्ता दरार आउनुले औद्योगिक क्षेत्रमै प्रश्न उठेको बताउँछन्। कार्यालयभित्र जस्ता प्रकारका समस्या भएपनि वार्ता गरेर सहमतीमा आउने वातावरण केन्द्रीय कार्यालयले मिलाउन भूमिका खेल्नुपर्ने कार्यालयका सहायक निर्देशक निमेश अधिकारीको भनाइ छ। यद्यपी, यस्ता वातारण तयार गर्ने जिम्मेवारी केन्द्रीय कार्यालयको भए पनि व्यवास्ता गरिरहेको उनको भनाई छ।

झुटो आरोप लगाइयो : प्रमुख विनाडी
यता, औद्योगिक क्षेत्र व्यवस्थापन कार्यालयका प्रमुख भोजराज विनाडी भने कार्यालयमा सबै कर्मचारीहरु आफूप्रति आन्दोलित हुनुलाई कार्यालय प्रमुख विनाडीले भने हल्का रुपमा लिएको पाइएको छ। कर्मचारीहरु विगत ५ दिनदेखि आन्दोलित भैरहँदा वार्ता गर्न समेत चासो नदेखाएको कर्मचारीहरुको गुनासो छ। यता, कर्मचारीहरुले लगाएको आरोप प्रत्यारोप सामना गर्न आफू कटिबद्ध रहेको बताउँदै कर्मचारीहरुसँग वार्तामा बस्न आफूलाई कुनै समस्या नरहेको कार्यालय प्रमुख विनाडी बताउँछन्।

‘वार्तामा बस्नका लागि कुनै तिथि मिति तोक्न पर्दैन।’ उनले थपे, ‘एउटै कार्यालयको कर्मचारी वार्तामा जुनैबेला पनि बस्न सक्छौं। उहाँहरुले वार्तामा बस्नका लागि मलाई भन्नु भएको छैन। कार्यसम्पादनमा मैले वाधा पुर्याएँ भन्ने आरोप नै गलत छ। उहाँहरुले चाहिँ मेरो कार्यसम्पादनमा अवरोध पुर्याउनु भएको छ। काम नगर्दिने देखि मलाई हातपात गर्न खोज्ने सम्मका घटनाहरु भएका छन्।’ यद्यपी, कर्मचारीहरुसँग वार्तामा बस्न आफु तयार रहेको र उनीहरुको मागमाथि छिट्टै निकास निकालिने प्रमुख विनाडीले बताए।

आन्दोलित कर्मचारीहरुले भने कार्यालयको काम कारवाहीलाई बाधा नपर्ने गरी सांकेतिक रुपमा पहिलो चरणको सात दिने शान्तिपूर्ण आन्दोलन गर्ने बताएका छन् । ७ दिनभित्र आफुहरुको माग सम्बोधन नभए दोश्रो चरणको विरोधको कार्यक्रम अगाडि बढाउने कर्मचारीहरुको भनाई छ।

 

प्रतिक्रिया
audhogik kshetra