सार्वजनिक जग्गा हिनामिना गर्ने ५ जनालाई कैद सजाय
कास्की जिल्लाको तत्कालीन साराङकोट गाविस कार्यालयका सचिवसहित पाँच जना भ्रष्टाचार मुद्दामा विशेष अदालतबाट दोषी ठहर भएका छन्।
विशेष अदालतका अध्यक्ष टेकनारायण कुँवर, न्यायाधीश मुरारीबाबु श्रेष्ठ र न्यायाधीश रितेन्द्र थापाको संयुक्त इजलासले उनीहरूलाई सार्वजनिक जग्गा व्यक्तिलाई भोगचलन गर्न दिएको आरोपमा दोषी ठहर गरेको हो।
दोषी ठहर हुनेहरूमा त्यसबेलाका गाविस सचिव मोदनाथ रेग्मी, झपटबहादुर थापा, वडा सदस्य यमबहादुर थापा, गाविस सचिव मानबहादुर थापा र स्थानीय दिलबहादुर गुरुङ रहेका छन्।
अदालतको आरोप अनुसार उनीहरूले गाविसको ६ रोपनी सार्वजनिक जग्गा व्यक्तिहरूलाई दिएका थिए। अदालतले उनीहरूलाई १ वर्ष कैद र १ लाख ७१ हजार जरिवानाको सजाय सुनाएको छ।
तर, सबै दोषी ज्येष्ठ नागरिक भएकाले कैद सजायमा ७०-७५ प्रतिशतसम्म छुट दिने गरी फैसला भएको छ।
प्रतिक्रिया