भूमि आयोग मकवानपुरद्धारा हालसम्म १२४ जग्गाधनी पूर्जा वितरण
राष्ट्रिय भूमि आयोग मकवानपुरले हालसम्म १२४ जनालाई जग्गाधनी पूर्जा वितरण गरेको जनाएको छ । शुक्रबार पत्रकार सम्मेलन गर्दै आयोग गठन भएको यो अवधिमा १२४ जनालाई जग्गाधनी पूर्जा वितरण गरेको जानकारी गराइएको हो।
आयोगले बागमती गाउँपालिकाका ४ र बकैया गाउँपालिकाका २ गरि ६ जना भूमिहिन दलितलाई जग्गाधनी पूर्जा प्रदान गरेको छ । आयोगले बागमतीका ३५ र बकैयाका ९ गरि ४४ भुमिहिन सुकुम्बासीलाई जग्गाधनी पूर्जा वितरण गरेको छ ।
त्यस्तै, हेटौंडाका ६९ र बागमती गाउँपालिकामा ५ गरि ७४ अव्यवस्थित बसोबासीलाई पूर्जा वितरण गरेको छ । राष्ट्रिय भूमि आयोगको सूचना प्रणालीमा मकवानपुरका स्थानीय तहले ३४० भूमिहिन दलित, २२६० भूमिहिन सुकुम्बासी, १४६५० अव्यवस्थित बसोबासी र सट्टाभर्ना २ जना गरि १७ हजार २ सय ५२ निवेदनको तथ्यांक प्रविष्ट गरेको जानकारी दिइएको छ ।
भूमिहिन दलित र सुकुम्बासीलाई निःशुल्क र अव्यवस्थित बसोबासीलाई जिल्ला समितिको निर्णयले निर्धारण गरेको राजस्व दाखिला गराई पूर्जा वितरण गर्दै आएको छ । जग्गा दर्ता तथा पूर्जा वितरणका लागि बकैयाबाट ४३ भूमिहिन दलित तथा सुकुम्बासीको विवरण स्वीकृत भएर आएको जनाइएको छ ।
आयोगले हेटौंडाको वडा नम्बर ११, ९ र ७ को ८ सय भन्दा बढि, बागमतीको १, २ र ६ को १४० भन्दा बढिलाई पुर्जा वितरणको तयारी भईरहेको छ भने बकैयामा नापनक्सा कार्य भइरहेको जनाएको छ । जिल्ला समन्वय समितिका प्रमुख ललित घलानको प्रमुख आतिथ्यता एवं भूमि आयोग मकवानपुर अध्यक्ष विष्णुप्रसाद दाहालको सभाध्यक्षतामा कार्यक्रम भएको थियो ।
कार्यक्रममा आयोगका विज्ञ सदस्य अर्जुनप्रसाद चौलागाईं, सदस्य अरूण रायमाझी, जिल्ला प्रशासन कार्यालयका प्रशासकीय अधिकृत सरोज पौडेल, जिल्ला समन्वय अधिकारी सूर्यप्रसाद चापागाईं, वन कार्यालयका वन अधिकृत बसन्तराज गौतम, मालपोत कार्यालय मकवानपुरका प्रमुख ओमबहादुर अधिकारी , सचिव नापी कार्यालय मकवानपुरका प्रमुख खिमबहादुर राना लगायतको उपस्थिति रहेको थियोे ।