ठमेलबाट २ ब्राजिलियन पक्राउ, अस्पताल लगेर पेटबाट निकालियो कोकिन
काठमाडौंको ठमेलबाट लागुऔषध कोकिनसहित २ जना ब्राजिलियन नागरिक पक्राउ परेका छन्।
काठमाडौं महानगरपालिका १७ ठमेलस्थित एक होटलबाट ब्राजिलियन नागरिक लारिसन ब्रिटो डोस सान्तोस र फेर्नान्डा भले दोसलाई लागुऔषध नियन्त्रण ब्युरोले बुधबार राति पक्राउ गरेको हो।
लारिसको सुडकेसमा ६२ वटा प्लास्टिकले बेरिएको अवस्थामा कोकिन ५५० ग्राम र १३९ वटा क्याप्सुलमा कोकिन १ किलो ३९० ग्राम बरामद गरेको ब्युरोले जनाएको छ।
उनीहरुले ब्राजिलको सापाउलोबाट कोकिनको क्याप्सुल निलेर पेटमा लुकाई ल्याएको खुलेको छ। उनीहरूको पेटमा थप क्याप्सुल हुन सक्ने आशंकामा प्रहरीले प्रहरी अस्पताल लगेको थियो। लारिसनको पेटबाट थप ६ वटा क्याप्सुल बरामद भएको ब्युरोका प्रवक्ता एसपी रामेश्वर कार्कीले बताए।
उनीहरूबाट बरामद भएको कोकिनको मूल्य ४ करोड ३६ लाख ५० हजार रुपैयाँ मर्ने प्रहरीको भनाइ छ। दुवै जनाविरुद्ध लागुऔषध कारोबारको कसुरमा अदालतबाट शुक्रबार म्याद लिएर प्रहरीले अनुसन्धान अगाडि बढाएको छ।