बागमतीको बजेट बहुमतले पारित
हेटौडा / बागमती प्रदेश सरकारको आगामी आर्थिक वर्ष २०८१/०८२ को बजेट बहुमतले पारित भएको छ। बिहीबार बसेको प्रदेशसभा बैठकले प्रदेश सरकारको आगामी आर्थिक वषको बजेट बहुमतले पारित गरेको हो ।
मंगरबारबाट प्रारम्भ भएको बजेटमाथिको छलफल बिहीबारसम्म चलेको थियो। हिजो बिषयगत मन्त्रीहरुले प्रदेश सभामा मन्त्रालयमाथि छलफलका क्रममा उठेको प्रश्नको जवाफ दिएका थिए। दिउँसोबाट प्रारम्भ भएको बैठकमा बिहीबार मध्यराति बजेट सदनबाट पारित गरिएको हो ।
सत्ता पक्ष र प्रतिपक्षी दलहरुको रस्साकस्सीबीचमा प्रदेश सरकारका तर्फका आर्थिक मामिला तथा योजना मन्त्री जगन्नाथ थपलियाले संसदमा पेस गरेको अर्थ सम्बन्धीमा प्रस्तावलाई कार्यान्वयन गर्न बनको विधेयक र विनियोजन विधेयक २०७९ बहुमतले पारित भएको हो। सभाका सभामुख भुवन कुमार पाठकले निर्णायार्थ पेस गरेको प्रदेश सरकारको आर्थिक सम्बन्धि विधेयक र विनियोजन विधेयक प्रदेशसभाको बैठकले बहुमत सहित पारित गरेको हो ।
प्रदेश सरकारले गत असार १ गते आगामी आर्थिक वर्षका लागि ६४ अर्ब ५४ लाख रुपैयाँ बजेट ल्याएको थियो। प्रदेश सरकारले चालु आर्थिक वर्षको तुलनामा १ अर्ब ८४ करोड रुपैयाँ बढीको बजेट प्रस्तुत गरेको थियो ।
कुल बजेटमध्ये चालूतर्फ २६ अर्ब १० करोड १६ लाख रुपैयाँ, पुँजीगत तर्फ ३६ अर्ब ९३ करोड ८७ लाख रुपैयाँ र वित्तीय व्यवस्थापनतर्फ १ अर्ब ५० करोड रुपैयाँ विनियोजन गरेका छन् । प्रदेश सरकारले कुल विनियोजनको चालूतर्फ ४०.४४ प्रतिशत, पुँजीगततर्फ ५७.२३ प्रतिशत र वित्तीय व्यवस्थापनतर्फ २.३२ प्रतिशत बजेट छुट्ट्याएको छ ।
बजेटमा नेपाली कांग्रेस ३७, राप्रपाका १२ गरी ४९ सांसद बजेटको विपक्षमा थिए, ३ सिट रहेको नेमकिपाका ३ सांसद तथस्ट बसेका थिए । सरकारको नेतृत्व गरिरहेको नेकपा माओवादी केन्द्र, सत्ता साझेदार दल नेकपा एमाले, नेकपा एकीकृत समाजवादी पार्टी र हाम्रो नेपाली पार्टीका ५६ जना सांसदहरू बजेटको पक्षमा रहेका थिए ।